काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले लालकाजी तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको संयोजकको जिम्मेवारी दिएका छन् ।
पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको प्रस्तावमा तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको संयोजकको जिम्मेवारी दिइएको हो ।
जिम्मेवारी पाएपछि तामाङले आफूलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएकोमा पूर्वमन्त्री बस्नेत, केन्द्रीय संयोजक शशांक कोइराला, महासमिति सदस्य रामकुमार थापा र सिन्धु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष युवा नेता सुभास तिमल्सिनाप्रति आभार व्यक्त गरेका छन् ।
तामाङले आफूलाई दिइएको जिम्मेवारी पूर्ण निष्ठा, इमानदारी, अनुशासन र प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन् । पार्टीका अग्रज नेता, बुद्धिजीवी, युवासहित सम्पूर्ण कांग्रेसजनसँग समन्वय र सहकार्य गर्दै संगठनलाई थप सुदृढ र विस्तार गर्न आफू सक्रिय रहने उनको भनाइ छ ।
उनले निर्धारित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश अधिवेशन, कात्तिक १५ गते क्षेत्रीय अधिवेशन र मंसिर ४ गते जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सहयोगका लागि आग्रह गरेका छन् ।
‘मलाई दिइएको जिम्मेवारीलाई सफल बनाउँदै नेतृत्वको शिर उच्च हुने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ तामाङले भनेका छन् ।
उनले सिन्धुपाल्चोक कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ताबाट साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गरेको बताएका छन् ।

