काठमाडौं - नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को कार्यबाहक सभापतिको जिम्मेवारी देवेन्द्र खड्कालाई दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले असोज ६ गते पठाएको पत्रअनुसार क्षेत्र नं. १(२) का प्रदेश सभा क्षेत्रीय सभापति खड्कालाई १५औँ महाधिवेशनका लागि मातहतका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिइएको हो।
महामन्त्री गुरुराज घिमिरेले हस्ताक्षर गरेको पत्रमा कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) बमोजिम खड्कालाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को कार्यबाहक सभापतिको विशेष जिम्मेवारी तोकिएको उल्लेख छ।
खड्कालाई जिम्मेवारी तोकिनुलाई सिन्धुपाल्चोक कांग्रेसभित्रको पछिल्लो राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। क्षेत्रीय सभापति बालकृष्ण बस्नेत संस्थापनइतर समूहमा उभिएपछि उनको स्थानमा खड्कालाई जिम्मेवारी दिइएको कांग्रेसभित्रका नेताहरूको दाबी छ।
यससँगै १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर सिन्धुपाल्चोक कांग्रेसमा विवाद थप पेचिलो बन्ने देखिएको छ। नियमित महाधिवेशनको पक्ष र त्यसको प्रक्रियालाई लिएर कांग्रेसभित्रै मतभेद देखिइरहेका बेला क्षेत्रीय तहमा जिम्मेवारी हेरफेर हुनुले त्यसको प्रभाव स्थानीय संगठनमा समेत परेको देखिन्छ। कांग्रेसभित्र महाधिवेशनको प्रकृति र प्रक्रियालाई लिएर लामो समयदेखि मतभिन्नता रहँदै आएको छ।
पत्रको निर्णयले एउटा प्रश्न भने उठाएको छ विषेश महाधिवेशनताका नियमित महाधिवेशनको पक्षमा उभिएका क्षेत्रीय सभापतिलाई हटाएर कार्यबाहकको जिम्मेवारी तोकिनु महाधिवेशन तयारीको सामान्य प्रक्रिया हो वा पार्टीभित्रको शक्ति समीकरणको परिणाम हो यसको स्पष्ट जवाफ कांग्रेस नेतृत्वले दिन बाँकी छ।

