Harsamaya
जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध : मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ।

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् ।

टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (LIFE–AR) सुविधाको औपचारिक घोषणा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् । जलवायुसम्बन्धी योजना निर्माण, निर्णय प्रक्रिया र कार्यान्वयनमा स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो ।

उनले LIFE–AR लाई अतिकम विकसित मुलुकहरूमा स्थानीय नेतृत्वमा जलवायु कार्य अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिन् ।

नेपालले LIFE–AR सँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले यस पहलको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update