सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकले संगठन सुदृढीकरण तथा वडा तहमा पार्टीको नेतृत्व चयन गर्ने प्रक्रियालाई अघि बढाउँदै जिल्लाका १०३ वटै वडामा असोज ३ गते नै अधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टीको जिल्ला कार्यसमितिले वडा तहमा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन तथा प्रतिनिधि चयन गर्ने तयारी अघि बढाएको हो।
काङ्ग्रेस सभापति गगन थापा नेतृत्वको काङ्ग्रेसले आउदो असोज ३ र ४ गते वडा अधिवेशन गर्ने निर्णय गरेसँगै बिहीबार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले ३ गते नै अधिवेशन गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला सभापति जंगबहादुर लामाको अध्यक्षतामा बसेको जिल्ला कार्यसमिति बैठकले आगामी असोज ३ गते भित्र जिल्लाका १०३ वटै वडामा वडा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सचिव रमेश भण्डारीले जानकारी दिए।
वडा अधिवेशनलाई व्यवस्थित र सहमतिमूलक रूपमा सम्पन्न गर्ने उद्देश्यले पार्टी नेतृत्वले मातहतका निकायलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ। सभापति लामाले जिल्लाका सबै वडामा सकेसम्म सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन गर्न तथा वडा कार्यसमिति गठन गर्न सुझाव दिएका छन्।
पार्टीको स्थानीय संगठनलाई थप व्यवस्थित बनाउँदै वडा तहबाटै नेतृत्व र प्रतिनिधि चयन गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन अधिवेशन महत्वपूर्ण हुने कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ।

