सिन्धुपाल्चोक - नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका–१२ को वडा सभापतिमा २५ वर्षीय सिभिल इन्जिनियर सुजन दनुवार सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार असोज ३ गते भिमटारमा सम्पन्न पार्टीको १५औँ वडा अधिवेशनले दनुवारलाई वडा नेतृत्वको जिम्मेवारी दिएको हो।
सभापति पदमा दनुवारसहित दुई जनाको दाबेदारी रहे पनि अन्तिममा उनको नाममा सर्वसम्मत समर्थन जुटेको थियो। उनी यसअघि १४औँ वडा अधिवेशनबाट सहसचिव थिए।
निर्वाचित भएपछि दनुवारले जिम्मेवारीलाई अवसरभन्दा ठूलो चुनौतीका रूपमा लिएको बताए। युवामाथि गरिएको विश्वासलाई कामबाट प्रमाणित गर्ने, संगठनमा एकता कायम गर्ने, युवाको सहभागिता बढाउने र जनतासँग प्रत्यक्ष जोडिएर परिणाममुखी काम गर्ने उनको प्रतिबद्धता छ।
“युवाले केवल परिवर्तनको कुरा गर्ने होइन, परिवर्तनको नेतृत्व गर्ने समय हो। अवसरको प्रतीक्षा मात्र नगर्नुस्, आफूलाई योग्य बनाउँदै जिम्मेवारी लिन अघि बढ्नुस्,” उनले भने।
कम उमेरमै नेतृत्वमा पुग्दा चुनौती भए पनि सबैको साथ र आफ्नो इमानदारीका साथ त्यसलाई सामना गर्ने दनुवारले बताए। “पद पाएको हुँ, अब त्यसलाई कामबाट प्रमाणित गर्ने हो,” उनले भने।
इन्द्रावती–१२ मा १२९ जना क्रियाशील सदस्य छन्। अधिवेशनबाट १२ सदस्यीय कार्यसमितिसमेत सर्वसम्मत चयन भएको छ। निर्वाचन अधिकृतका रूपमा बालकृष्ण दनुवार खटिएका थिए।
दनुवारले आफ्नो प्राविधिक ज्ञान र संगठनात्मक अनुभवलाई वडा विकास तथा संगठन निर्माणमा उपयोग गर्ने बताएका छन्। “युवाको प्रतिनिधित्व अब नारा मात्रै होइन, नेतृत्वमै हुनुपर्छ,” उनले भने।

