Harsamaya
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा जानेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणबारे उनलाई जानकारी गराउने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उनी सहभागी हुनेछन्।

असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

महासभा सम्बोधनपछि प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा हुँदै नेपाल फर्किनेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नेछन्।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update