सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकका १०३ वटै वडामा वडा अधिवेशन भएको छ । असोज ३ र ४ गते तोकिएको वडा अधिवेशन जिल्लाका १०३ वटै वडामा भएको जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिए ।
वडा तह पार्टी संगठनको जग भएको बताउँदै लामाले यसपटकको अधिवेशनबाट वडा सभापतिको नेतृत्वमा जेन्जी युवादेखि ज्येष्ठ नागरिकसम्मले अवसर पाएको बताए ।
अधिवेशनबाट इन्द्रावती गाउँपालिका–१२ मा २५ वर्षीय जेन्जी युवा तथा इन्जिनियर अजय दनुवार वडा सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै चौतारा नगरपालिका–२ मा ७४ वर्षीय लालबहादुर थापा र लिसंखुपाखर गाउँपालिका–१ मा ७१ वर्षीय चन्द्र तामाङ वडा सभापतिको नेतृत्वमा चयन भएका छन् ।
जिल्लाका १०३ वडामध्ये १०२ वडामा सर्वसम्मत रूपमा वडा सभापतिसहित कार्यसमिति र पदाधिकारी चयन भएका छन् । एउटा वडामा भने सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–१ मा वडा सभापति पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको हो । निर्वाचनमा सभापतिका उम्मेदवार नीरबहादुर तामाङले १४ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी प्रवीण लामाले १३ मत प्राप्त गरे । तामाङ एक मतको अन्तरले विजयी भएका हुन् ।
वडा नेतृत्व चयनका लागि २७ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी भएको सिन्धुपाल्चोकका लागि खटिएका निर्वाचन अधिकृत दिलीपकुमार अधिकारीले जानकारी दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका–१ नेपाली कांग्रेस सिन्धुपाल्चोकका वर्तमान उपसभापति टंकबहादुर कार्कीको वडासमेत हो ।
वडा अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस सिन्धुपाल्चोक अब स्थानीय तहको अधिवेशनको तयारीमा जुटेको छ। जिल्ला सभापति लामाका अनुसार असोज ७ गते हुने जिल्लाका १२ वटै स्थानीय तहको अधिवेशनका लागि तयारी अघि बढाइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पनि वडा अधिवेशनमा क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको थियो ।

