Harsamaya

काठमाडौं - विज्ञ जयराज आचार्यले राष्ट्रको समृद्धि केवल आर्थिक, औद्योगिक र व्यापारिक विकासले मात्रै सम्भव नहुने भन्दै साहित्य, कविता र वाङ्मयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

शुक्रबार दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल २७ औं वार्षिकोत्सवका अवसरमा सम्मान÷पुरस्कार अर्पण तथा कृति लोकार्पण समारोहमा बोल्दै उनले दायित्व पत्रिका स्थापना भएको २७ वर्ष र पत्रिका प्रकाशन सुरु भएको ४० वर्ष पुगेको उल्लेख गर्दै प्रतिष्ठानले वाङ्मय संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताए ।

आचार्यले कविता र साहित्यले समाजलाई सभ्य र समृद्ध बनाउन ठूलो भूमिका खेल्ने बताए । उनले नेपाल आर्थिक रूपमा गरिब भए पनि साहित्य र वाङ्मयका दृष्टिले समृद्ध रहेको धारणा राखे ।

आचार्यले अहिले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको टिप्पणी गर्दै युवाले नेतृत्व गरेको वर्तमान सरकारप्रति आशा व्यक्त गरे । उनले युवाको ऊर्जा सकारात्मक दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै देश निर्माणको अभियान सबै मिलेर पूरा गर्नुपर्ने धारणा राखे ।

सीमित स्रोतसाधनका बीच सुरु भएको राष्ट्रिय एकीकरण अभियानले आजको नेपाल निर्माण गरेको बताए । अहिले नेपालसँग हिमाल, पहाड, पानी, माटो र जनशक्ति जस्ता पर्याप्त स्रोत रहेको भन्दै राष्ट्र निर्माणमा सबैले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । आचार्यले सम्मानित व्यक्तिहरूले सामाजिक, सांस्कृतिक र आध्यात्मिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update