Harsamaya

काठमाडौं - कवि, लेखक तथा पत्रकार नवीन अभिलाषीको तेस्रो कृति नयाँ कथासङ्ग्रह दहाड सार्वजनिक भएको छ।

काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा  शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण ढकाल, समालोचक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा र स्वयं लेखक अभिलाषीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै ढकालले ‘दहाड’मा समेटिएका कथाहरू शक्तिशाली र प्रभावशाली रहेको उल्लेख गरे। इतिहासको धरातलमा उभिएर लेखिएका यी कथाहरू नयाँ पुस्ताले अनिवार्य पढ्नुपर्ने उनको भनाइ थियो।

Nabin-Abhilashi-Book-1777186370.jpg
वरिष्ठ साहित्यकार नारायण ढकाल, समालोचक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा र लेखक नवीन अभिलाषी ।

समालोचक बानियाँले सङ्ग्रहले समाजको पिँधमा रहेका, विशेषगरी दलित समुदायका पीडा र संघर्षलाई उजागर गरेको बताए। उनका अनुसार अभिलाषीले विगतको यथार्थलाई वर्तमानको ऐनामा प्रस्तुत गर्ने क्षमता देखाएका छन्। ‘उनको लेखन शैली सरल, काव्यिक र प्रभावकारी छ, स–साना घटनाबाट ठूलो सन्देश दिन सक्ने विशेषता देखिन्छ,’ उनले भने।

निबन्धकार लामाले पनि कृतिमा दलित, भूमिहीन र राज्यविहीनताको अनुभूति गहिरो रूपमा चित्रण गरिएको बताइन्। उनले १२ वटै कथालाई समान रूपमा सशक्त र पछिल्लो समयका उत्कृष्ट कथामध्ये एक भन्दै प्रशंसा गरिन्।

१२ वटा कथा समेटिएको ‘दहाड’मा पञ्चायतकालीन समाज, सामाजिक विभेद, अन्याय, गरिबी, अभाव र मानवीय संवेदनाका विविध पक्षलाई गहिराइका साथ प्रस्तुत गरिएको छ। ‘एक्का’, ‘ताना’, ‘आफैँ’ लगायतका कथाले त्यस समयको सामाजिक संरचना र दलित समुदायको संघर्षलाई उजागर गर्छन्।

दाङमा जन्मिएर प्युठानमा हुर्किएका अभिलाषी हाल नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत छन्। केही वर्षदेखि उनी साहित्य र पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित उक्त कृतिले लेखक अभिलाषीको साहित्यिक उचाइ थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसअघि उनका ‘मौलामा बाँधिएको राँगो’ र ‘ईश्वरको अस्थिपञ्जर’ कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्।

भिडियो :-

१) यो कथाहरुले माैन विद्रोहको संकेत गर्छन् भन्ने मलाई लाग्छ : साहित्यकार नारायण ढकाल

२) अभिलाषीका कथामा जातीय र वर्गीय विभेदको तितो यथार्थ मुखरित छ : राजकुमार बानियाँ

३) यो कथाले अत्यन्तै मार्मिक कुरा बोलेको छ र यो समाजको यथार्थ पाटो हो : कुमारी लामा

तस्वीरहरु :

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update