काठमाडौँ - नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्युटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् ।
आफूलाई कुनै निश्चित पेशा वा परिचयमा सीमित नराखी ‘अनुशासित विद्यार्थी’ का रूपमा चिनाउने आचार्यको जीवन निरन्तर सिकाइ, संघर्ष र सिर्जनशीलताको मिश्रणका रूपमा देखिन्छ ।
उनी साहित्यकार, फोटोग्राफर, स्वयंसेवक तथा भूगर्भशास्त्रमा रुचि राख्ने विद्यार्थीका रूपमा सक्रिय छन् । उनी भन्छन्,‘म आफूलाई कुनै एक परिचयमा बाँध्न चाहन्नँ, म हरेक दिन नयाँ कुरा सिक्ने विद्यार्थी हुँ ।’
बाल्यकाल र साहित्यप्रतिको प्रारम्भिक आकर्षण
आचार्यको साहित्यप्रतिको झुकाव बाल्यकालमै विकसित भएको हो । पारिवारिक वातावरण, विशेषगरी हजुरबुबाको साहित्यप्रेमले उनको सोच र लेखन शैलीमा गहिरो प्रभाव पारेको उनी आफैं बताउँछन् ।
उनका अनुसार, हजुरबुबाले रामायणका श्लोकहरू सुनाउने, गाउँघरका घटना र जीवनका अनुभूतिहरूलाई कविता रूप दिनु उनको पहिलो साहित्यिक पाठशाला बनेको थियो ।
भावुक हुँदै उनी भन्छन्,‘मेरो हजुरबुबाले गाउँमा असिना–पानी परेर भएको क्षति सम्झेर कविता सुनाउनु भएको थियो । त्यो कविता मेरो लागि केवल साहित्य होइन, जीवनको पीडा बुझ्ने पहिलो पाठ थियो ।’
त्यही वातावरणले उनलाई सानै उमेरदेखि शब्दप्रति आकर्षित बनायो । कक्षा तीनमा अध्ययन गर्दा उनले पहिलो पटक कविता लेखेको अनुभव सुनाउँछन्, जसले उनको लेखन यात्राको औपचारिक सुरुवातको गरेको थियो ।
सुनगाभा साहित्य समाज र लेखनको विकास
साहित्यिक यात्राको विकासक्रममा सुनगाभा साहित्य समाजको भूमिका महत्वपूर्ण रहेको आचार्य बताउँछन् । उक्त साहित्यिक संस्थामा सहभागी भएपछि उनले विभिन्न साहित्यकार, शिक्षक तथा सिर्जनशील व्यक्तिहरूसँग नजिकबाट सिक्ने अवसर पाए ।
‘सुनगाभा साहित्य समाज मेरा लागि विद्यालयभन्दा फरक एक विश्वविद्यालय थियो, जहाँ मंैले लेख्न मात्र होइन, बुझ्न पनि सिकेँ ।’त्यहीँबाट उनले कविता, लेख र कथा लेखनमा अभ्यास बढाउँदै साहित्यलाई गहिरो रूपमा बुझ्न थाले ।
उपन्यास ‘पर्वतनन्दिनी’ र साहित्यिक उदय
२३ वर्षको उमेरमा न्युटन आचार्यले उपन्यास ‘पर्वतनन्दिनी’ मार्फत साहित्य क्षेत्रमा औपचारिक प्रवेश गरेका हुन्। उक्त उपन्यासले उनलाई साहित्यिक रूपमा पहिचान दिलाएको छ ।
तर, यो यात्रा सहज भने थिएन । लेखनकै क्रममा उनी गम्भीर स्वास्थ्य समस्याबाट प्रभावित भए, जसले उनको सिर्जनात्मक यात्रामा ठूलो चुनौती ल्यायो । १९ वर्षको उमेरमा उनले उपन्यास लेख्न सुरु गरेका थिए । तर बीचमा उनको स्वास्थ्य समस्याको कारण लेखन बन्द गर्नु परेको थियो ।
उनी सम्झिन्छन्,‘बिरामी अवस्थामा म धेरै कमजोर भएको थिएँ । लेख्न सक्दिनँ कि भन्ने डर पनि थियो । तर त्यही समयमा म भित्रको इच्छा शक्तिले लेखिरहन प्रेरित ग¥यो ।’स्वास्थ्य समस्याका बाबजुद उनले उपन्यास पूरा गरेका थिए, जसलाई उनी आफ्नो जीवनको संघर्षपूर्ण उपलब्धि मान्छन् ।
स्वास्थ्य संघर्ष र मानसिक दृढता
आचार्यले आफ्नो जीवनको एक महत्वपूर्ण र चुनौतीपूर्ण चरणमा लामो समयसम्म माइग्रेन तथा अन्य स्वास्थ्य समस्यासँग संघर्ष गर्नुपरेको अनुभव सुनाउँछन् । यस अवधिमा उनी शारीरिक रूपमा कमजोर भएपनि मानसिक रूपमा भने निरन्तर दृढ रहेको बताउँछन् ।
अस्पतालको बसाइ, औषधि उपचार, नियमित जाँच र शारीरिक असहजताबीच पनि उनले आफ्नो लेखन कार्यलाई पूर्ण रूपमा रोक्न दिएनन् । कठिन परिस्थितिमा पनि उनले कलम समातेर लेखिरहनु नै आफ्नो आत्मबलको मुख्य आधार बनेको उनले बताए ।
उनी भन्छन्,‘त्यो समयमा मेरो शरीर कमजोर थियो, तर मेरो सोच कमजोर थिएन ।’
आचार्यका अनुसार, स्वास्थ्य समस्याले शारीरिक रूपमा चुनौती दिए पनि मानसिक रूपमा उनलाई अझै बलियो बनाएको थियो । निरन्तर संघर्ष, आत्मविश्वास र लेखनप्रतिको समर्पणले उनलाई पुनः सक्रिय हुन प्रेरित गरेको थियो ।
यस अवधिमा उनको जीवनमा परिवार, नजिकका साथीहरू तथा चिकित्सकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनी सम्झिन्छन् ।
उनको अनुसार परिवारको साथ, साथीहरूको हौसला र चिकित्सकहरूको निरन्तर उपचार र मार्गदर्शनले उनलाई कठिन समय पार गर्न ठूलो सहयोग पुगेको थियो ।
बहुआयामिक अध्ययन र रुचिहरू
आचार्यको व्यक्तित्व साहित्यमा मात्र सीमित छैन। उनले भूगर्भशास्त्र अध्ययनमार्फत पृथ्वीको संरचना, ढुंगाको इतिहास र प्राकृतिक प्रक्रियाहरूलाई गहिरो रूपमा बुझ्ने प्रयास गरेका छन् ।
उनका अनुसार, ढुंगा पनि एउटा इतिहास हो, जसले लाखौँ वर्षको कथा बोकेको हुन्छ ।
उनी प्रष्ट पार्छन्,‘हामीले ढुंगालाई हेर्दा केवल वस्तु देख्छौँ, तर त्यस भित्र समयको कथा लुकेको हुन्छ ।’
त्यस्तै, फोटोग्राफीलाई उनले दृश्यभन्दा गहिरो कथा देखाउने माध्यमका रूपमा व्याख्या गर्छन् । उनका फोटोहरूमा समाज, संस्कृति र मानवीय भावनाको प्रतिबिम्ब देखिन्छ ।
स्वयंसेवकको रूपमा रेडक्रससँगको संलग्नताले उनलाई मानवताको महत्व बुझ्न मद्दत गरेको उनले बताएका छन् । घाइते, पीडित र संकटमा परेका मानिसहरूको सेवा गर्ने क्रममा उनले ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने निष्कर्ष निकालेका छन् ।
लेखन दर्शन र समाजप्रतिको दृष्टिकोण
आचार्य साहित्यलाई केवल कला नभई समाज परिवर्तनको माध्यमका रूपमा हेर्छन्। उनका अनुसार, मानिसका भावना र अनुभवलाई सिर्जनात्मक रूपमा अभिव्यक्त गर्न सकिएमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
‘यदि भावना भित्रै राखियो भने त्यो बोझ बन्छ, तर कृतिमा बदलियो भने त्यो समाजको आवाज बन्छ,’उनले भने । उनका विचारमा साहित्य केवल कल्पना होइन, जीवनका यथार्थ, पीडा र संघर्षको दस्तावेज हो ।
युवा पुस्ताप्रति सन्देश
न्यूटन आचार्यले विशेषगरी युवा पुस्तालाई आफ्ना भावनाहरूलाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्न सुझाव दिएका छन् । उनका अनुसार सामाजिक सञ्जालमा भावना तुरुन्त पोख्ने बानीले दीर्घकालीन सिर्जनात्मक क्षमतालाई कमजोर बनाउन सक्छ ।
उनले युवाहरूलाई साहित्य, कला, संगीत, फोटोग्राफी वा अन्य माध्यममार्फत आफ्ना विचार अभिव्यक्त गर्न आग्रह गरेका छन् ।
जीवन अनुभव र व्यक्तिगत सम्बन्धहरू
आफ्नो जीवन यात्रामा परिवार र साथीहरूको ठूलो योगदान रहेको उनी स्वीकार गर्छन् । विशेषगरी हजुरबुबा, हजुरआमा, आमा–बुबा, दिदी तथा नजिकका साथीहरूको समर्थनले उनलाई कठिन समयमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन्।
‘मेरो जीवनमा सबैभन्दा ठूलो शक्ति मेरो परिवार र साथीहरूको माया हो।’आचार्य चिकित्सकहरूको योगदानलाई पनि उच्च सम्मानका साथ सम्झन्छन्, जसले उनको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
आचार्यको जीवन एकै व्यक्तित्वमा सीमित नभई बहुआयामिक अनुभवहरूको संगम हो । साहित्य, विज्ञान, फोटोग्राफी र मानव सेवाको संयोजनले उनलाई एउटा फरक सोच भएका युवा रूपमा स्थापित गरेको देखिन्छ ।
उनको जीवन दृष्टिकोणमा सबैभन्दा महत्वपूर्ण कुरा निरन्तर सिकाइ हो। उनी अझै पनि आफूलाई ‘विद्यार्थी’नै मान्छन् र जीवनभर सिकिरहने संकल्प व्यक्त गर्छन्।
अन्ततः आचार्यको जीवन यात्रा केवल एक युवा साहित्यकारको संघर्षको कथा मात्र होइन, आत्मविश्वास, इच्छाशक्ति र निरन्तर सिकाइको जीवित उदाहरण पनि हो ।
स्वास्थ्य समस्याले शारीरिक रूपमा कमजोर बनाउँदा पनि उनले आफ्नो सोच, सिर्जनशीलता र सपनालाई कमजोर हुन दिएनन् ।
परिवारको साथ, साथीहरूको माया, चिकित्सकहरूको योगदान र आफ्नै दृढ इच्छाशक्तिको बलमा उनले कठिन समय पार गर्दै पुनः सिर्जनात्मक यात्रालाई निरन्तरता दिएका छन् ।
साहित्य, विज्ञान, फोटोग्राफी र मानवताप्रतिको उनको दृष्टिकोणले उनलाई केवल लेखक मात्र होइन, समाजलाई गहिरो रूपमा बुझ्ने संवेदनशील युवा व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
उनका अनुभव, संघर्ष र विचारहरूले अहिलेको युवा पुस्तालाई कठिन परिस्थितिमा पनि हार नमान्न, आफ्ना भावनाहरूलाई सिर्जनामा रूपान्तरण गर्न र जीवनलाई निरन्तर सिकाइको यात्राका रूपमा लिन प्रेरणा दिने छ ।

