Harsamaya
 ‘मण्डला ड्रामा स्कुल’को तेस्रो ब्याचका लागि आवेदन खुला
मण्डला थिएटर नेपाल ।

काठमाडौं - मण्डला थिएटरले आफ्नो १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम “मण्डला ड्रामा स्कुल” को तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ । कार्यक्रममार्फत नेपालभरका युवा नाटककर्मी, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्व विकास गर्ने उद्देश्य राखिएको संस्थाले जनाएको छ ।

यो कार्यक्रम युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको रंग परियोजनाअन्तर्गत सञ्चालन हुनेछ। परियोजनाको उद्देश्य विशेषगरी सीमान्तकृत समुदायका युवालाई सिर्जनात्मक अभिव्यक्ति, संवाद र सांस्कृतिक अभ्यासमार्फत सामाजिक परिवर्तनमा सक्रिय बनाउनु रहेको बताइएको छ ।

मण्डला ड्रामा स्कुल नेपालकै दीर्घकालीन आवासीय नाट्य प्रशिक्षण कार्यक्रममध्ये एक हो। यसमा व्यवहारिक नाटक निर्माण प्रक्रिया, समावेशी कथा, रंगकर्म, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियामा केन्द्रित गहन अभ्यास गराइनेछ। तेस्रो ब्याचमा अभिनय, निर्देशन, नाटक लेखन तथा सहभागितामूलक रंगमञ्चसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने जानकारी दिइएको छ ।

कार्यक्रमका लागि नेपालका सातै प्रदेशबाट १४ जना सहभागी छनोट गरिनेछन्, जसमा प्रत्येक प्रदेशबाट दुई जनाको प्रतिनिधित्व हुनेछ । महिला, एलजिबीटीक्युआइए प्लस समुदाय, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका युवालाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

प्रशिक्षण सम्पन्न भएपछि सहभागीहरूले आफ्नै प्रदेशका स्थानीय मुद्दामा आधारित मौलिक नाटक निर्माण गर्नेछन् । ती नाटकहरू पछि नेपाल अन्तराष्ट्रिय थिएटर फेस्टिबल (NITFEST) २०२८तथा विभिन्न प्रादेशिक महोत्सवहरूमा मञ्चन गरिनेछ ।

थप जानकारीका लागि मण्डला थिएटर-नेपालको आधिकारिक वेबसाइट मा जान सकिनेछ। साथै कार्यक्रमका प्राविधिक निर्देशक सोमनाथ खनाललाई [email protected] वा +९७७-९८४९२९६४६१ मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update