Harsamaya
सलमान खानको चलचित्रमा अनूप विक्रम शाही चिनियाँ सेनाका मेजर
सलमान खान र अनूप विक्रम शाही ।

काठमाडौं - नेपाली चलचित्रका चर्चित अभिनेता अनूप विक्रम शाहीले बलिउडमा पदार्पण गर्ने भएका छन् । सलमान खान अभिनीत हिन्दी चलचित्र ‘मातृभूमि’मा उनी चिनियाँ सेनाका मेजरको भूमिकामा देखिने भएका हुन् ।

चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा सलमान खान चिनियाँ सेनासँग भिडिरहेको देखिन्छन् । यस क्रममा उनको सामना चिनियाँ सेनाका मेजरको भूमिकामा रहेका अनूप विक्रम शाहीसँग हुन्छ । चलचित्रको  ट्रेलर सार्वजनिक भएपछि अनूपको भूमिकालाई लिएर दर्शकमा उत्सुकता बढेको छ ।

हिन्दी चलचित्रका दर्शकका लागि अनूप नयाँ अनुहार भए पनि नेपाली चलचित्र क्षेत्रमा उनी परिचित अभिनेता हुन् । आकर्षक व्यक्तित्व, अग्लो कद र प्रभावशाली अभिनयका कारण उनले नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका छन् । विशेषगरी नकारात्मक भूमिकामा उनको अभिनयलाई दर्शकले रुचाउँदै आएका छन् ।

काठमाडौंमा जन्मिएका अनूपले आफ्नो करियर मोडलिङबाट सुरु गरेका हुन् । सन् २०१३ मा उनले ‘म्यानहन्ट इन्टरनेसनल नेपाल’को उपाधि जितेका थिए । त्यसपछि सन् २०१६ मा चीनको शेनझेनमा आयोजित ‘म्यानहन्ट इन्टरनेसनल’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएका उनले ‘उत्कृष्ट टेलिभिजन मोडल’को पुरस्कार प्राप्त गरेका थिए ।

मोडलिङमा पहिचान बनाएपछि उनले अभिनय क्षेत्रमा प्रवेश गरेका हुन् । सन् २०१३ मा नेपाली चलचित्र ‘सौर्य’बाट अभिनय यात्रा सुरु गरेका अनूपलाई सन् २०१४ मा प्रदर्शन भएको चलचित्र ‘हसिया’ले विशेष पहिचान दिलाएको थियो । उक्त चलचित्रमा उनले निर्वाह गरेको नकारात्मक भूमिकाले उनलाई नेपाली चलचित्रको चर्चित खलनायकका रूपमा स्थापित गरेको थियो ।

त्यसपछि उनले ‘बीर विक्रम’, ‘किङ’, ‘क्री’, ‘लिली बिली’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’, ‘पासवर्ड’, ‘लक्षे’ र ‘लप्पन छप्पन २’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रसँगै अनूप टेलिभिजन क्षेत्रमा पनि सक्रिय रहे । उनी  नेपाली रियलिटी शो‘हिमालयन रोडिज’मा ग्याङ लिडरका रूपमा देखिएका थिए । कार्यक्रममा उनको स्पष्ट बोल्ने शैली र प्रभावशाली व्यक्तित्वले दर्शकको ध्यान आकर्षित गरेको थियो ।

अभिनयबाहेक उनले राजनीतिमा समेत हात हालेका छन् । सन् २०२२ मा उनी नेपाली कांग्रेसमा आबद्ध भएका थिए ।

अनूपका लागि ‘मातृभूमि’ बलिउडमा प्रवेश गर्ने महत्वपूर्ण अवसर बनेको छ । चलचित्रका निर्देशक अपूर्व लाखियाले चिनियाँ सेनाका मेजरको भूमिकाका लागि विश्वभरका कलाकारको श्रव्यदृश्य परीक्षण गरिएको बताएका थिए । सयौँ कलाकारमध्येबाट अनूपलाई उक्त भूमिकाका लागि छनोट गरिएको जनाइएको छ ।

सलमान खानका प्रशंसक रहेका अनूपले चलचित्रको झलक सार्वजनिक कार्यक्रममा सलमानको खुट्टा छोएर सम्मान व्यक्त गरेका थिए । उनको उक्त व्यवहार सामाजिक सञ्जालमा समेत चर्चित बनेको थियो ।

अपूर्व लाखियाको निर्देशनमा बनेको ‘मातृभूमि’ डिसेम्बर ४ मा चलचित्र घरमा प्रदर्शन हुने जनाइएको छ । चलचित्रमा सलमान खान र अनूप विक्रम शाहीबीचको भिडन्तका दृश्यलाई दर्शकले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।

अनूप आफ्नो निजी जीवनलाई सार्वजनिक चर्चाबाट टाढा राख्न रुचाउँछन् । यद्यपि, एक समय उनको नाम पूर्वमिस नेपाल तथा मोडल मालिना जोशीसँग जोडिएको थियो । दुवैले ‘रानी’ चलचित्रमा सँगै काम गरेका थिए । उनीहरू करिब दुई वर्ष सम्बन्धमा रहेपछि अलग भएको बताइएको छ ।

हाल अनूप आफ्नो अभिनय यात्रालाई अगाडि बढाउन केन्द्रित छन् । नेपाली चलचित्रमा खलनायकका रूपमा स्थापित उनले ‘मातृभूमि’मार्फत बलिउडमा नयाँ पहिचान बनाउने अवसर पाएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update