Harsamaya
मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु, चार जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बुधबार साँझ ७ बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना र स्कुटर चालकसहित दुई जना गरी पाँच जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको थियो ।

घाइतेमध्ये स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी ३५ वर्षीया सुशिला बमलाई थप उपचारका लागि बिहीबार बिहान २ बजेर २६ मिनेटमा मायामेट्रो अस्पताल धनगढी पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बमको शव हाल मायामेट्रो अस्पतालमै रहेको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update