Harsamaya
काँग्रेस एकताका लागि शेखरका पाँच प्रस्ताव
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - नेपाली कांग्रेस फुटको संघारमा पुग्नै लाग्दा वरिष्ठ नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । काँग्रेस फुटबाट जोगाउन मध्यमार्गमा रहेर काम गरिरहेका कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन पाँच बुँदे प्रस्ताव अघि सारेका हुन् ।

कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिकलाई अनिवार्य नबनाउनुपर्ने,  १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा आगामी महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको प्रस्ताव छ । 

त्यस्तै, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट गठन गरिएको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।

कोइरालाले कार्यसम्पादनमा सभापतिको बहुमत हुनेगरी गठन गर्ने र निर्वाचन समिति, क्रियाशिल छानबिन समिति, अनुशासन समिति, बिधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउन सुझाव दिएका छन् । 

काँग्रेसमा विशेष महाधिवेशन भएसँगै विभाजनको रेखा कोरिएको थियो । अहिले त्यो रेखा उच्च बिन्दुमा पुगेको छ। काँग्रेसमा तीन समूहले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएका छन् । कार्यक्रममा एक समूहले अर्को समूहको आलोचना गर्ने गरेका छन् । 

पछिल्लो समय क्रियाशील अद्यावधिकले पनि काँग्रेसमा थप विवाद चर्किएको छ । कोइराला र पूर्ण बहादुर खड्का समूहले पहिला अद्यावधिक भएका क्रियाशीलबाट १५औं महाधिवेशन गर्नुपर्ने अडान राखेको छन् भने सभापति गगन कुमार थापाले नयाँ अद्यावधिक गराउन निर्देशन दिएका छन् । उनले अद्यावधिक नगर्नेको जिम्मेवारी खोस्ने धम्कीसमेत दिइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update