
उत्कण्ठा : एक अपराध शीर्षकको कविता लेखेर साहित्यमा कलम चलाउन सुरू गरेकी ज्ञानू पाण्डे काठमाडौंको इन्द्रचोकमा जन्मिएकी हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डा. पाण्डे प्राज्ञपरिषद् सदस्य (२०७०–२०७४ नेपाल प्रज्ञा–प्रतिष्ठान) को भूमिकामा पनि रहनुभयो । माता तीर्थकुमारी र पिता पोषण पाण्डेकी छोरी ज्ञानू नेपाली समालोचना लेखनका सिद्धहस्त हुन् । पोषण पाण्डे स्वयं आख्यान लेखनमा ख्यातनामा हुन् । उनका भिनाजुको स्वेटर, कृष्णदासको भित्तेघडी लगायतका कथा मनोविश्लेषणको उपल्लो धुरीमा चर्चित छन् ।
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गरेकी उनी नेपाली नारी स्रष्टाका सिर्जना विश्व साहित्यसित दाँज्न मिल्ने खालका पनि लेखिएका छन् भन्ने जिज्ञासालाई शान्त पार्दै उनी भन्छिन्– पारिजातको शिरीषको फूल उपन्यास पढौं न सर्वप्रथम । त्यसै गरी प्रेमा शाह, बानिरा गिरीलगायतका स्रष्टाको लेखनीको पनि मलाई बेस्सरी सम्झना भयो । यी नामलाई नेपाली साहित्यको नारी लेखनीको कोणबाट मात्र होइन– सिङ्गै नेपाली साहित्यको परिप्रेक्ष्यमा विशिष्ट उपलब्धिका रूपमा सम्झन सकिन्छ ।
वास्तवमा नेपाली साहित्यको नारी लेखनको स्तरीयताको कुरा गर्दा र खासगरी अन्तर्राष्ट्रिय साहित्यसित दाँज्न मिल्ने खालका लेखनीको लेखाजोखा गर्नुपर्दा अझै किटेर भन्न सकिने अवस्था छैन । किनकि देशभित्र नारी स्रष्टाका सिर्जनाको त्यस ढङ्गले अध्ययन र विश्लेषण गरिएको छँदै छैन भन्दा अतिशयोक्ति हुँदैन । उनका प्रकाशित कृतिमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद, विकीर्ण अनुशीलन, नेपाली उपन्यासमा लैङ्गिकता, नेपाली नारी कथाकार, समकालीन पाश्चात्य समालोचना सिद्धान्तका प्रणेताहरू (सम्पादन), नारी साहित्यकारको विधागत इतिहास (सह–सम्पादन) र जीवनको अभिनन्दन (निबन्धसङ्ग्रह) हुन् ।
तपाईंको विचारमा साहित्य के हो ?
साहित्य गम्भीर बौद्धिक कर्म हो । दायित्वबोधका साथ अभिव्यक्तिनुपर्ने थलो हो यो । कलात्मकता यसको श्रृङ्गार हो र सुन्दर एवं सकारात्मक दृष्टिको प्रकाशन यसको प्राण हो ।
तपाईं साहित्यमा लाग्न सुरूमा कसरी प्रेरित हुनभुयो ? तपाईंको साहित्य यात्रा कसरी आरम्भ भयो ?
म साहित्यिक पारिवारिक पृष्ठभूमिमा जन्मिएर हुर्किई बढेकी व्यक्ति हुँ । नेपाली साहित्यकी माध्यमिककालीन कवि भगवतकुमारी पाण्डे मेरी हजुरमुमा हुन् । बुबा पोषण पाण्डेको साहित्यिक व्यक्तित्व यथार्थमा उहाँकै प्रेरक आशीषको वरदान हो । अनि मेरो कलमको मुख्य प्रेरणाचाहिँ बुबाको साहित्यिक व्यक्तित्व हो ।
मेरो साहित्य यात्रा प्रथमतः रेडियो नेपालको बाल कार्यक्रममा कवितावाचन गरेर आरम्भ भएको हो । त्यतिबेला बुबाले मलाई हात समाएर रेडियो नेपालको स्टेडियममा लग्नुभएको थियो । तर कविता के हो भन्नेबारे बुझेर कवितामा मैले कलम चलाउन सुरू गरेको चाहिँ तीसको दशकको उत्तराद्र्धमा आएरमात्र हो । ‘उपहार’ साहित्यिक त्रैमासिकमा उत्कण्ठा एक अपराध शीर्षकको कविता (२०३७) छापिएपछि नै मेरो खास लेखनयात्रा सुरू भएको हो ।
हाल तपाईंको लेखन गतिविधि कसरी अघि बढिरहेको छ ?
घरि अरूका विषयमा लेखेर त घरि आफ्नै सिर्जनामा रमाएर निरन्तर लयमा अघि बढिरहेको छ मेरो लेखन गतिविधि । म हतार गरेर लेख्तिनँ वा लेख्न सक्तिनँ । मलाई लेख्न बस्ता खुब समय चाहिन्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
जिम्मेवारीमा आएका अनुसन्धानात्मक र प्राज्ञिक काम त्यहीअनुसारले गर्नुपर्ने हुन्छ । तर सिर्जनात्मक लेखनमा लाग्दा भने म स्वतन्त्र रूपले विषय छनौट गर्छु ।
तपाईं पत्रकारितामा पनि अलि समय लाग्नुभएको थियो, त्यससम्बन्धी अनुभवबारे केही बताइदिनुहुन्छ कि ?
मेरो मुख्य कार्यक्षेत्र प्राध्यापन हो । साहित्य मेरो अध्ययन–मनन र लेखनको मूल विषय । तर पनि विशेष रुचिका कारण एक समय म पत्रकारितामा पनि प्रत्यक्ष–परोक्ष रूपमा संलग्न रहेँ । वि.सं. २०४६ को जनआन्दोलनताका पञ्चायती निरङ्कुशतन्त्रविरुद्ध मनमा उठेका भाव पोख्न मैले अखबारमा स्तम्भलेखन सुरू गरेकी हुँ । त्यसबेलाको राष्ट्रपुकार साप्ताहिकमा मेरा कयौं लेख छापिएका छन् । पछि नेपाल प्रेस इन्स्टिच्युटको दशमहिने पत्रकारिता तालिमको क्रममा इन्टर्नका रूपमा युगसम्वाद साप्ताहिकमा म केही महिना संलग्न भएँ । हिमालय टाइम्समा त मैले केही वर्ष वरिष्ठ उपसम्पादक तहमा रहेर फुलटाइम काम नै गरेकी हुँ । त्यसपछि यता अन्नपूर्ण पोष्टमा तीनचार वर्ष साप्ताहिक रूपमा र कान्तिपुरमा प्रत्येक १५ दिनमा एउटाका दरले छ/सात वर्षसम्म मैले लगातार विभिन्न शीर्षकका विचारप्रधान लेख लेखें ।
ती सबै लेख अझै सुरक्षित छन् मसँग । मेरै लेखनमा तयार भएको सञ्चार विषयसम्बद्ध अनुसन्धानमूलक पुस्तक सञ्चारकर्मी महिलाको अवस्था २०६२ मा सञ्चारिका समूहले प्रकाशन गरेको छ । त्यस पुस्तकको तयारीका क्रममा प्रमुख अनुसन्धाताका रूपमा भूमिका निर्वाह गर्दाका अनुभूति तथा उक्त पुस्तक लेख्ताको अनुभव मेरो स्मृतिमा अझै ताजै छ । पत्रकारितासित जोडिएको आफ्नो जीवनका ती पल र खासगरी सञ्चारिका समूहमा सात वर्षसम्म लगातार जोडिएर रहँदाका बेला भेटिएका विभिन्न रूप, रोगन, विचार र स्तरका पात्र सम्झँदा अहिले पनि मनमा एकैसाथ अनेक रङ्गको अनुभूति मडारिन्छ मेरो । लाग्छ– ती अनुभूतिलाई म तुरुन्तै लिपिबद्ध गरिहालूँ ।
साहित्यमा तपाईंको लेखन खासगरी समालोचना विधामा केन्द्रित देखिन्छ । यसका पछाडि कुनै खास कारण छ कि ?
प्राध्यापन पेशाका कारणले पनि यसो भएको हुन सक्छ । तर त्यसको मतलब सिर्जनात्मक विधामा कलम चलाउन मलाई रुचि छैन भन्ने कुरा पटक्कै होइन । कविता मलाई असाध्यै मन पर्ने विधा हो । मेरो लेखनयात्रा कविता रचनाबाट नै आरम्भ भएको कुरा माथि खुलिसकेको छ । निबन्ध लेखनमा पनि मलाई उस्तै रूचि छ । तर कविता विधामा अहिलेसम्म मेरा फुटकर रचनामात्र प्रकाशित छन् ।
समालोचनामा कहिलेदेखि कलम चनाउन सुरू गर्नुभयो ?
समालोचनामा म चालीसको दशकबाट संलग्न भएकी हुँ । २०४४ मा गरिमामा छापिएको ‘निर्बन्ध उपन्यास : एक दृष्टिकोण’ शीर्षकको लेख मेरो पहिलो समालोचना हो ।
तपाईंले बीपीको विषयमा विद्यावारिधि गर्नुभयो । साहित्य र राजनीतिमध्ये बीपी केमा बढी सफल भएको अनुभूति हुन्छ ?
बीपीलाई साहित्य र राजनीति दुवै क्षेत्रमा उच्च सफलता हासिल भयो । जसरी आधुनिक नेपाली साहित्यको इतिहासबाट उनको नाम झिकिदिने हो भने त्यो अपूर्ण बन्दछ– त्यसरी नै नेपाली राजनीतिक इतिहासमा पनि उनको नामको उचाइ उस्तै अतुलनीय छ । उनी नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका केन्द्रीय धुरी अनि सर्वोच्च शिखर हुन् । हामी सबैलाई थाहा छ, आज उनको देहावसान भएको यतिका वर्ष बितिसके पनि उनको योगदानको उचाइ र उनको नामको प्रभावलाई नाघ्न सक्ने अर्को कुनै राजनीतिकर्मीको नेपालमा जन्म हुन सकेको छैन ।
तपाईंका विचारमा बीपी कस्ता साहित्यकार हुन् ?
बीपी दार्शनिक कोटिका साहित्यकार हुन् । जीवनको गहिरो सत्यलाई दार्शनिक स्पर्शका साथ अभिव्यक्ति दिनु उनको कलमको मुख्य विशेषता हो । उनको साहित्य पढ्दा ‘हरेकले आफ्नो आस्तित्विक यथार्थमा अन्तर्निहित सीमाप्रति उच्च सचेतता राख्तै त्यही सीमाभित्र स्वयंप्रति पूर्ण इमानदार भई सार्थक जीवन बाँच्न प्रयास गर्नुपर्छ भन्ने बोधले आलोकित भइन्छ ।
तर बीपीलाई मूल रूपमा यौनवादी साहित्यकार भनिन्छ नि त ?
बीपीलाई यौनवादी साहित्यकारको बिल्ला तत्कालीन निरङ्कुश राजनीतिक परिस्थितिले भिराइदिएको हो । नेपाली साहित्यमा प्रवेश गर्दा आरम्भमा यौन मनोविज्ञानको प्रयोग गरिएको रचना लिएर अघि बढेका बीपीले समयक्रममा आफ्नो साहित्यमा जीवनका अरू पनि कैयौं महत्त्वपूर्ण पक्षलाई वाणी दिएका छन् ।
तर उतिबेला देशको साहित्यिक वृत्तमा उनीबारे गहिरो अध्ययनमनन गरी विचार दिन सक्ने माहौल थिएन । सर्वविदितै छ– पञ्चायती राजमा बीपीको नाममात्र लिनु पनि ठूलो अपराध गरेझैं ठानिन्थ्यो मुलुकभित्र । त्यसैले पनि होला– २०४६ भन्दा अघिसम्म त बीपीका साहित्यबारे कुरा गर्दा खालि उही यौन–मनोविश्लेषणको पक्षको मात्र बढ्दा चर्चा गर्ने गरिएको भेटिन्छ । २०४६ यताको समयमा आएपछि मात्र त हो बल्ल उनको साहित्यिकताबारे अलि विस्तृतमा अध्ययन गर्न थालिएको !
अन्त्यमा :
समालोचनालाई कठोर विधा हो भन्छन् नि त ?
यो केवल बुझाइगत त्रुटि हो । समालोचना तुलनात्मक रूपमा बढी बौद्धिकतासित सम्बन्धित हुन्छ, हुनुपर्छ त्यो अलग कुरा हो, तर त्यसको मतलब यो विधा कठोर हो, कठोरता नै यसको मुख्य पहिचान हो भनेर बुझ्नु सही होइन भन्ने लाग्छ मलाई । अवश्य नै, साहित्यको गम्भीर पाठकको कोटीमा पर्दछ समालोचक । त्यसर्थ साहित्यिक रचना पढेर त्यसबारे आफ्नो कोण दर्शाउनु उसको एउटा प्रमुख कार्यक्षेत्र हो नै, साथसाथै साहित्यका सिद्धान्त निरूपण गर्नु तथा साहित्यका विभिन्न दर्शनबारे दृष्टि खुलाउनुपर्ने दायित्व पनि उसको कर्मअन्तर्गत नै पर्दछ ।
यथार्थमा लेखक तथा पाठकका मनमा विचारको नयाँ भोक जगाइदिन सक्नु, विचारको नयाँ जगत् पहिल्याउनतर्फ तिनलाई हौस्याउन सक्नु, विचारको नयाँ धारतिर अभिमुख हुन उत्प्रेरणा प्रदान गर्नु, गर्न सक्नु समालोचकको विशिष्ट क्षमताको प्रमाण हो । यस्तो क्षमताका लागि उसमा सिर्जनशील बौद्धिकता अपेक्षित हुन्छ, न कि बौद्धिक कठोरता । आफ्नो यो बुझाइमा म अडिग छु ।