सिन्धुपाल्चोक - सिन्धुपाल्चोक क्षेत्र २ का कांग्रेस उम्मेदवार बंशलाल तामाङले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केन्द्र कांग्रेसले भिजन १० लाई अगाडि सारे झैं तामाङले पनि शनिबार १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।
तामाङले कृषिमा आधुनिकीकरण, पर्यटन, शिक्षा, विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएका छन् । सार्वजनिक गरिएको संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, पर्यटन, विपद् व्यवस्थापन, समावेशी समाज निर्माण, संसदमा सक्रिय भूमिका तथा इमानदार सार्वजनिक सेवा स्थापना गर्ने स्पष्ट कार्ययोजना समेटिएको छ।
संकल्पपत्र सार्वजनिक गर्दै तामाङले राजनीति पद प्राप्तिको माध्यम नभई समाज परिवर्तनको जिम्मेवारी भएको बताए। उनले क्षेत्र नं. २ लाई दिगो विकास, समृद्धि र सुशासनको नमुना क्षेत्र बनाउने दाबी गरे।
उनले सर्वसुलभ शिक्षा, प्रविधिमैत्री कक्षा सञ्चालन, गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क शैक्षिक सहयोग र प्राविधिक शिक्षाको विस्तारलाई प्राथमिकता दिने उल्लेख गरेका छन्।
स्वास्थ्यतर्फ आधारभूत अस्पताल सुदृढीकरण, दुर्गम क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य बीमा तथा प्रत्येक वडामा आपतकालीन स्वास्थ्य सहायता कोष स्थापना गर्ने योजना अघि सारिएको छ।
कृषिलाई व्यवसायिक बनाउने योजना
तामाङले कृषिलाई आधुनिक र व्यवसायिक पेशाको रूपमा विकास गर्ने, सिँचाइ आयोजना विस्तार गर्ने, कृषि उत्पादनको भण्डारण तथा बजारीकरणको सुनिश्चितता गर्ने र युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय स्रोत–साधनको उपयोग गर्दै कृषि, पर्यटन र साना उद्योगमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य पनि संकल्पपत्रमा समेटिएको छ।
पर्यटन र पूर्वाधार विकास
हेलम्बु, आमायाङ्री, पाँचपोखरी, मेलम्ची लगायत क्षेत्रको पर्यटन सम्भावनालाई विस्तार गर्दै सडक, खानेपानी, विद्युत् र इन्टरनेट पहुँच सुधार गरिने योजना उल्लेख छ। त्यसैगरी बाढी, पहिरो र जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
सुशासन र पारदर्शितामा प्रतिबद्धता
संकल्पपत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, कानुनको समान कार्यान्वयन सुनिश्चित गर्ने तथा डिजिटल सेवा प्रणालीमार्फत नागरिकलाई सहज सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। तामाङले मतदातालाई परिवर्तन र समृद्धिको यात्रामा साथ दिन आह्वान गर्दै आफ्नो योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।




