Harsamaya

काठमाडौं - साहित्यसुधा नेपालले आफ्नो सातौँ वार्षिकोत्सव तथा छैटौँ सम्मान समारोह भव्य रूपमा गरेको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा साहित्यसुधा नेपालले विभिन्न विधामा योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

समारोहमा केवलपुरे किसान साहित्यसुधा पुरस्कारबाट जगन्नाथ आचार्य, हरिभक्त साहित्यसुधा पुरस्कारबाट प्रा. डा. अञ्जना वस्ती तथा मनीषा साहित्यसुधा संवर्द्धन पुरस्कारबाट कवि असीम सागर सम्मानित भएको साहित्यसुधा नेपालका अध्यक्ष कल्पना काफ्लेले जानकारी दिइन् । 

प्रमुख अतिथिका रूपमा सुप्रसिद्ध कथाकार तथा साहित्यकार माया ठकुरी उपस्थिति थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले एउटा कुनामा बसेर साहित्य लेख्न जति सजिलो छ, विद्वान विदुषीहरुका अगाडि बोल्न एकदम अप्ठ्यारो हुने बताइन् । उनले साहित्य, गीत र धार्मिक ग्रन्थले अर्कै संसारमा पुर्याउने गरेकी सुनाइन् । उनले कार्यक्रममा मिठो गीत सुनाएकी थिइन् ।

प्रा.डा. अभि सुवेदीले राज्यमा आफ्ना विचारधारा मान्ने सत्तामा पुग्दा राज्यले सम्मान गरेन भने स्वभाविक लाग्ने बताए । उनीहरू आफ्नो धुनमा हुन्छन् उनीहरूलाई साधकको के चिन्ता, उनले प्रश्न गरे। ती साधकलाई षट्मुर्खहरूले सम्मान गरेनन् भन्दा केही फरक नपर्ने उनले बताए ।

कार्यक्रममा सम्मानित भएकी प्रा. डा. अञ्‍जना वस्तीले साहित्यलाई सम्मान गर्न र साहित्य साधनमा लागिरहन आग्रह गरेकी छिन् । अर्का साहित्यकार जगन्‍नाथ आचार्यले मिठा गीतहरू सुनाएर कार्यक्रमलाई मन्त्रमुग्ध बनाएका थिए । उनले केवलपुरे किसानका साहित्यहरू सुनाएका थिए ।

Sahitya-Sudha-Nepal-1-1771736633.jpg
कवि असीम सागर, जगन्नाथ आचार्य र प्रा. डा. अञ्जना वस्ती। 

अर्का सम्मानित व्यक्ति कवि असीम सागरले साहित्य सुधाले यति ठूलो पुरस्कार दिएर उर्जावान् बनाएको बताए । सफल श्रीमान् बनाउन गरेको संघर्षको सम्मान आजको पुरस्कार भएको उनले सुनाए । ‘राति २ बजे गएर तरकारी ल्याएर बेचेर मलाई यहाँसम्म पुर्याउन गरेको श्रीमतीको संघर्ष को यो सम्मान हो’ उनले भने । 

साहित्यकार कलानिधि दाहालले साहित्य ताली र वान्समोरले मात्रै राम्रो नहुने बताए । ‘साहित्यमा कलात्मक उच्च मूल्यलाई स्थापित गरेर ताली लिन सके राम्रो कुरा हो,’ उनले भने । उनले सम्मानित व्यक्तित्वहरूको बारे आफ्नो भनाइ राखेका थिए  । 

त्यसैगरी कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. कोपिला न्यौपाने, प्रा. डा. गोविन्दमान सिंह कार्की, डा. बमबहादुर थापा ‘जिताली’, साक प्रकाशनका पूर्व महाप्रबन्धक कवि प्रह्लाद पोखरेल, सिस्नुपानी नेपालका अध्यक्ष व्यंग्य कवि लक्ष्मण गाम्नागे, लीलाजन थापा साहित्य प्रतिष्ठानका अध्यक्ष कवि विजयध्वज थापा तथा मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोनेलगायत साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमकी सभापति साहित्यसुधा नेपालकी अध्यक्ष काफ्लेले प्रत्येक वर्ष संस्थाले साहित्यमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको जानकारी दिएकी थिइन् । 

१) कथाकार माया ठकुरी

२) साहित्यकार जगन्नाथ आचार्य

३) प्रा. डा. अञ्‍जना वस्ती

४) कवि असीम सागर

५) प्रा.डा. अभि सुवेदी

६) डा. तुलसी भट्टराई

७) कलानिधि दाहाल

८) कल्पना काफ्ले

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update