सिन्धुपाल्चोक - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र–१ का उम्मेदवार जंग बहादुर लामाले आफ्नो १० बुँदे प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन्। हिजो कदम बास भैसेमा आयोजित क्षेत्र नं. १ अन्तर्गतका ५४ वटै वडाका सभापति, काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट प्रत्यासी बनेकाहरूको भेलालाई सम्बोधन गर्दै लामाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
लामाले प्रस्तुत गरेका १० प्रतिज्ञाहरू यसप्रकार रहेका छन्–
१) सिन्धुको आवाज संसदमा र नीति निर्माणमा सक्रियता । संसदमा नागरिकका हरेक समस्या र आवाज उठाउने, आवश्यक कानुन निर्माण तथा संशोधनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२) सुशासन र समुन्नति प्राकृतिक स्रोत–साधनको न्यायोचित उपयोग गर्दै कृषि र पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
३) विकास निर्माण क्षेत्रका हरेक वडामा यातायात, सडक, सिँचाइ, खानेपानी, सामुदायिक भवन निर्माण तथा बाढी–पहिरो नियन्त्रणका विशेष योजना ल्याउने प्रतिबद्धता जनाएका छन्।
४) शिक्षा सुधार समय सापेक्ष, व्यावहारिक र रोजगारीमुखी शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय र शिक्षक क्षमताको अभिवृद्धि गर्ने बताएका छन्।
५) स्वास्थ्य सेवा विस्तार प्राथमिक स्वास्थ्य चौकी सुदृढीकरण, पालिका स्तरमा अस्पताल व्यवस्थापन तथा कमजोर आर्थिक अवस्था भएका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
६) कृषि र पर्यटन प्रवर्द्धन आधुनिक कृषि प्रणाली, बीउ–विजन, मल, सिँचाइ र कृषकलाई अनुदान व्यवस्था गर्दै जिल्लाका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार–प्रसार गरी पर्यटन विकासमा जोड दिने बताएका छन्।
७) तातोपानी नाका स्थायी सञ्चालनका लागि पहल छिमेकी राष्ट्र चीनसँग कूटनीतिक पहल गरी तातोपानी नाकालाई स्थायी रूपमा सञ्चालनमा ल्याउने र रोजगारी सिर्जना गर्ने बताएका छन्।
८) मर्यादित रोजगारी र श्रमको सम्मान कृषि, जडीबुटी, पर्यटन र व्यापारमार्फत जिल्लामै रोजगारी सिर्जना गर्दै श्रमिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
९) युवा र खेलकुद विकास युवालाई सीपमूलक तालिम र स्वरोजगार कार्यक्रममा जोड्दै खेलकुद विकासका विशेष कार्यक्रम ल्याउने बताएका छन्।
१०) प्राकृतिक विपद् र जलवायु परिवर्तन न्यूनीकरण बाढी–पहिरो लगायत प्राकृतिक विपद् न्यूनीकरणका कार्यक्रम ल्याउने र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विशेष पहल गर्ने उल्लेख गरेका छन्। उक्त कार्यक्रममा लामाले “परिणाममुखी, समावेशी र उत्तरदायी राजनीति” का लागि आफूलाई मतदान गर्न अपिल गर्दै कांग्रेसलाई विजयी गराउन सबैलाई आग्रह गरेका थिए।

