काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को श्रेष्ठ नेतृत्वको कार्यसमितिले मार्च १४-१६ मा हुने भनिएको महाधिवेशनमा सहभागी नहुने संकेत गरेको छ ।
संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको पदाधिकारी बैठकले संघको बृहत् एकताका लागि पारदर्शी, कानुनसम्मत र आत्मसम्मानजनक प्रक्रिया हुनुपर्ने निष्कर्ष निकालेको हो । अनलाइन माध्यमबाट बसेको उक्त बैठकले एकताको नाममा आत्मसमर्पण स्वीकार्य नहुने स्पष्ट पारेको महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए ।
बैठकले निर्वाचन प्रक्रियालाई शतप्रतिशत भौतिक बनाउनुपर्ने स्पष्ट अडान राखेको पनि उनले बताए । विगतको हाइब्रिड वा अनलाइन मतदान प्रक्रियामा धाँधली भएको भन्दै निर्वाचनको स्वच्छताका लागि भौतिक उपस्थिति अनिवार्य हुनुपर्नेमा बैठकमा जोड दिइएको थियो । परराष्ट्र मन्त्रालय हाइब्रिड निर्वाचनतर्फ झुकेको भन्दै बैठकमा असन्तुष्टि समेत व्यक्त गरिएको थियो ।
यसैगरी आफूहरु एकता प्रकृया विरोधी नभएको निष्कर्ष निकाल्दै डेलिगेटहरूको न्यायोचित बाँडफाँड र सबै पक्षको बराबरी एवं सम्मानजनक सहभागिता हुनुपर्ने, सदस्यता शुल्कका आधारमा कसैलाई पनि वञ्चित गर्न नहुने र प्रक्रिया पारदर्शी हुनुपर्ने पनि महासचिव लामाले बताए ।
गत मंसिर १४ मा सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको १० बुँदे सहमति अनुसार अहिलेसम्म पनि एमआइएस प्रणालीमा पहुँच नदिएकोमा बैठकमा आपत्ति जनाइएको थियो ।
यसैगरी बैठकले आफूहरुले गरेका माग सम्बोधन नभए, सहमति उल्लंघन भए वा एकलौटी निर्णय गर्ने क्रम जारी रहेमा स्टेयरिङ कमिटीमा पठाइएका प्रतिनिधिहरूलाई फिर्ता बोलाउने चेतावनी समेत दिएको छ ।
अध्यक्ष श्रेष्ठले संघ अहिले ऐतिहासिक तर जटिल मोडमा रहेको बताउँदै बलियो र एकीकृत संस्थाले मात्र प्रवासी नेपालीको मताधिकार र समृद्ध नेपालका लागि योगदान पुर्याउन सक्ने धारणा राखेका थिए ।

