Harsamaya
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र–२  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बंशलाल तामाङ ।

काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र–२  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बंशलाल तामाङले  चुनावी अभियानका क्रममा हेलम्बु गाउँपालिकालाई अर्गानिक भ्याली र पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन्।

राजधानीमा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले हेलम्बु क्षेत्रमा अर्गानिक कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताए। ‘हेलम्बुलाई अर्गानिक भ्याली बनाएर रोयल्टी लिन सकिन्छ, सम्भावना धेरै छ,’ उनले भने। चुनावी अभियानको पहिलो चरणमै हेलम्बु लगायत क्षेत्र–२ का विभिन्न बस्तीमा पुग्दा धेरै समस्या देखिएको उल्लेख गर्दै उनले बागबानी फार्मलाई व्यवस्थित बनाउने योजना बनाइएको बताए।

त्यस्तै, पाँचपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। ‘सडकलाई पक्की बनाउन सके मात्रै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने।

तामाङले चुनावी माहोल आफ्नो पक्षमा सकारात्मक रहेको दाबी गर्दै सिन्धुपाल्चोकको भविष्य निर्माण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। ‘मुलुक परिवर्तनको संवाहक युवा हुन्, मुलुक बदल्ने निर्वाचन हो,’ उनले भने। संघीयता अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै अब सही नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याए।

नेताहरू सत्तामा पुगेपछि जनताको समस्या बिर्सने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले आफू निर्वाचित भए जनताको मुद्दा नबिर्सने प्रतिबद्धता व्यक्त गरे। ‘देशको भविष्यका लागि कांग्रेसलाई जिताउन आवश्यक छ,’ उनले आग्रह गरे।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update