Harsamaya
कविता : ह्याप्पि भ्यालेन्टाईन डे !
ग्राफिक्स : हर समय/Har Samaya

भरखर तोते र ताते गरेको छोरा,
फरक लगाएर फररर घुम्न सिकेकी छोरी,
स्कुले ब्यागमा ठाटिएका केटाकेटी,
अनि कलेजक‍ो दैलो भरखर टेक्दै गरेका,
युवा युवतीहरुको जमातले,
संयुक्त स्वरमा भन्दैछन्,
आज "रोज डे", भोलि "प्रपोज डे"!

रेष्टुरेन्टहरू युगलमय छन,
भुराहरु चोक चोकमा रमाउदैछन्,
युवा युवतीहरू मन सजाउँदैछन्,
पेय र धुवामा देखिन्छन् अधवैंशेहरु,
मन साट्दैछन् प्रत्येक युगलहरु,
चकलेटमा भविष्य खोज्दैछन सायद,
मिलाउदैछन् अनुकरणका लोलीहरु,
आज "चकलेट डे, भोलि त टेड्डि डे" !

हाम्रो ईतिहास फेरि अर्कै,
प्रेमालापको छुट्टै रोचकता,
पत्रहरु भावना पोख्थे
आँखाहरु ईसारा पढ्थे
मनै मनले सर्वस्व कल्पन्थ्यो
भेट्ने भाखा नाघेका दिन,
एकान्तमा तड्पिन्थ्यौं,
निदाउन बिर्सेका रक्तिम नयनहरू
मन भित्र दमित मिलनका लाभा जस्तै
लोकार्पणको त्रासमा झस्कदैं,
मन बिसाउने चौतारी खोज्थ्यौँ ।
अहिले भए त हामी पनि भन्थ्यौँ होला,
प्रिय! आज त "प्रमिस" डे ।

विकृति भनौं कि संस्कृति??
सङ्गाल्दैछु प्रश्नहरु
हरेकसँग उत्तर खोज्दैछु,
रोमको विरासत स्वीकार्दै
युरोपेले भुमि चुमेर फैलिएको
प्रेमिल मिलाप र विलापको कथा
राता गुलाबका फुलहरुसँगै
"हग डे" अनि, "किस डे" हुँदै 
विश्वप्यापी बनेको छ ।

यतिमात्रै कहाँ हो र!
घरको अर्थतन्त्र च्यातिएर
सिलाउन विदेशिएका युवाहरु,
मृगौला बेचेर जीवन बाँच्नेहरु,
भरेको छाक के पकाउँ भनेर
टेण्डर हाल्ने आमाहरु
घामले रङ्ग बदलेका पिताजीहरु,
नातिले मझेरीमा फेरेको पिसाबमा,
बुढौलीका चाउरी बिर्सने हजुरआमाहरु,
अनि दौराको च्यातिएको फेर समाएर
पसिनाको सुस्केरा पुछ्ने हजुरबाहरु, अनि
कुनै जमातले दिन नसकेका
जवाफका उकुस मुकुस ठेलीहरु
समेट्न र छाम्न नसकेपछि
थिङथिलाएको मानसिकता बोक्दै
म आफैं पनि एकैसाथ चिच्याईरहेछु
ह्याप्पी भ्यालेन्टाईन डे !
ह्याप्पी भ्यालेन्टाईन डे !!

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update