Harsamaya
कविता : शासक र दम्भहरु
ग्राफिक्स : हर समय/Har Samaya

हिजो चप्पल पड्काउँदै गाँउ चहार्दा,
जमिनको हिलोले टाउको रङ्गाउथ्यौ,
आज करोडौको गाडीमा गुड्छौ अरे,
भन्छन्,सिपाहीलाई दास बनाएकाछौ,
अनि, उसैले ओढाएको छाता मुनि
दासत्व मोचनको भाषण छाट्दै छौ रे ।

सस्तो लोकप्रियताको लागि,
तिमी त्यसरी अन्मिदा,
बेग्लै अनुभूति हुँदो हो सायद !!
त्यसैले स्वभिमानी कर्मचारीलाई
अनुगमनको नाटक मञ्चन गर्दै,
थाङ्नेको उपनाम दिन्छाैं,
देखावटी राष्ट्रवादको नारा फलाक्दै
सच्चा राष्ट्रवादीहरु कठघरामा कोच्दैछौ,
गम्भीर मुद्दाका प्रमाणहरु नष्ट पार्दै
अनुकुलनताको शसिद्धान्त पो लागु गर्यौ रे ।

खै के हो साथी !
मतदाताका मतको अवमुल्यन हो कि,
आश्वासन सबै फोस्रिदै छन,
मह निचरिएको चाका झै,
मुर्दा शान्तिको आभाष छ,
मरिसके जनताका चाहहरु,
नपलाउँदै ओईलाए आशाका मुनाहरु,
सम्वृद्धि मापनको फेहरिस्तमा,
सबैभन्दा तल झर्दैछौ,
व्यक्तिगत सम्वृद्धिको उच्चतासँगै,
विकसित हुँदैछन निजी महलहरु,
बलात्कृत हुँदैछ मातृभुमी ।

पजनीमा परेको जागीर अनि,
घण्ट बिनाको मन्दिर जस्तै,
अझ,धमिराले खोक्राएको
पलासको बृक्ष जस्तै,
प्रतिफलको झल्को हराउने गरि,
लुट्दैछौ उपस्थितिको आभाष पनि ।
बिचलित छौ,थर्थराई रहेछौ,
अनगिन्ती समुन्द्री छाल जस्तै,
जन्माउदै छौ,मृगतृष्णाहरु,
प्रहार गर्दैछौ निरीह माथि,
उन्मुक्ति पाउँदैछन् पुजारीहरु,
लोकतन्त्रको खोल ओढी,
बृक्षारोपण गर्दैछौ भोकतन्त्रको ।

साथी !
हिजोको जस्तो आभाष अनि,
प्रत्याभुती पनि दिन सक्दैनौ यदि भने,
बिम्ब भित्रको प्रतिबिम्ब,
नाटकहरुको नाट्यशाला जस्तो,
अझ,श्रोताशुन्य प्रस्तुतिको अतिथी भएर,
अप्रिय शव्दहरुको साक्षी बस्नु भन्दा,
बिर्सिदेउ जनताका अभिमत र वाचाहरु,
हटाई देउ सिमानाका जंङ्गे पिलरहरु
थोपरिदेउ दोष जति सबै "सती" लाई,
आलिसान जीवन तिमीले नै जीउने हो,
श्रमजीबीहरु,
पसिना बेच्दैछन् तिम्रै लागि,
नतमस्तक बनेकै छन् तिम्रै लागि
अझै चुस, झनै लुछ, बढाउ तिम्रा दम्भहरु ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update