Harsamaya

काठमाडौं - मुक्तक साहित्यको प्रवर्द्धनमा सक्रिय संस्था ‘मुक्तकालय नेपाल’ ले दोस्रो वार्षिकोत्सव तथा ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ प्रदान  गरेको छ । 

आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा नेपालले ‘महावीर विश्वकर्मा स्मृति सम्मान’झापाकी मुक्तककार अरुणा श्रेष्ठ ‘अनु’ लाई प्रदान गरेको हो । उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको थियो।

शारीरिक असहजताका बाबजुद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी श्रेष्ठलाई सम्मान गर्दा कार्यक्रममा सहभागीहरू भावुक बनेका थिए ।  मुक्तक साहित्यमा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मानि भएपछि मुक्तककार अनुले आफू भितामा टासिएको एउटा तस्वीर जस्तै भएको बताइन् । ‘किनकि तस्वीर बोल्न सक्दैन हिँड्न सक्दैन कसैको सहाराविना’, उनले भनिन् ‘म त्यस्तै हुँ ।’ बन्द कोठामा भएको व्यक्तिलाई सम्मान गरेर मुक्तकालय नेपाल जस्तो एउटा संस्थाले अर्को ढोका सधै खुला रहेको सन्देश दिएको उनले बताइन् । उनले मुक्तकालय जस्तो संस्था धेरै जन्मिउन भन्दै शुभकामना दिइन् ।

यसै अवसरमा मुक्तकालय नेपालको अक्षयकोष वृद्धिका लागि आर्थिक सहयोग गर्ने शिवहरि बगाले (५० हजार रुपैयाँ), कृष्ण आचार्य (२० हजार रुपैयाँ) र तुलसी एन. चित्रकार (१५ हजार ५ सय ५५ रुपैयाँ) लाई दोसल्ला ओढाएर मानार्थ आजीवन सदस्यताको कदरपत्रसहित सम्मान गरेको थियो।

त्यस्तै, तेजबहादुर कार्की (२० हजार रुपैयाँ) र भरत लोहोरुङ राई (१० हजार रुपैयाँ) ले पनि संस्थालाई आर्थिक सहयोग गरेकामा सम्मानका लागि छनोट गरिए पनि कार्यक्रममा उपस्थित हुन नसकेकाले आगामी वार्षिकोत्सवमा सम्मान गरिने जनाइएको छ।

मुक्तकालय नेपालकी अध्यक्ष निलाञ्जला भारद्वाजले आगामी वर्षमापनि मुक्तकमा समर्पित नयाँ स्रष्टाहरुलाई प्रोत्साहन स्वरुप मुक्तकालय नेपालले निरन्तर सम्मान गर्ने बताइन् । उनले मुक्तक धेरै लेख्ने भन्दा पनि शब्दमा कसरी ओजन ल्याउने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन्। राम्रो लेख्नुस् थोरै लेख्नुस् उनले भनिन् । 

कार्यक्रममा संस्थालाई ५–५ हजार रुपैयाँ सहयोग गरी आजीवन सदस्यता लिएका ३१ जनालाई पनि आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।

मुक्तक साहित्यको संरक्षण, प्रवर्द्धन र स्रष्टाहरूको सम्मानलाई केन्द्रमा राखेर आयोजित कार्यक्रमले नेपाली मुक्तक साहित्यको विकासमा थप ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ छ।

संस्थाकी अध्यक्ष निलाञ्जला भारद्वाजको सभापतित्वमा आयोजित कार्यक्रममा रामकाजी कोने प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा उषा शेरचन, ज्ञानु वाकर पौड्याल, रमेश पौडेल, निर्मल पराजुली, राजेन्द्र घिमिरे र मदन नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए भने संस्थाका संस्थापक तथा संरक्षक सुनिल अधिकारीको समेत उपस्थिति रहेको थियो।

संस्थाका सचिव देवी बस्कोटाको उद्घोषण र कोषाध्यक्ष कमला घिमिरे अधिकारीको स्वागत मन्तव्यसहित दिउँसो १ बजे सुरु भएको कार्यक्रम करिब दुई घण्टासम्म सञ्चालन भएर ३ बजे सम्पन्न भएको थियो।

१) वरिष्ठ साहित्यकार उषा शेरचन (भिडियो)

२) नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने ‪(भिडियो)

३) बरिष्ठ साहित्यकार रमेश पौडेल (भिडियो)

४) अरुणा श्रेष्ठ 'अनु' (भिडियो)

५) राजेन्द्र घिमिरे (भिडियो)

६) निर्मलरमण पराजुली (भिडियो)

७) संरक्षक सुनिल अधिकारी (भिडियो)

८) मदन नेपाल (भिडियो)

९) अध्यक्ष निलाञ्जला भारद्वाज (भिडियो)

१०) कोषाध्यक्ष कमला घिमिरे (भिडियो)

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update