काठमाडौँ - अनुप तिमल्सिना व्यवसायिक रुपमा म्युजिसियन हुन् । उनी थियटर म्युजिकमा संलग्न छन् । उनी व्यक्तिगत रुपमा थियटर म्युजिक एकदमै मन पराउँछन् । जहाँ उनले आफूलाई धेरै पाउँछन् । याक्टरहरुसँग सहकार्य गर्न पाउँदा, उनीहरुको भावना अनुसारको म्युजिक भर्न पाउँदा उनी आनन्दित महसुस गर्छन् । उनी कमर्सियल म्युजिक पनि गर्छन् । दुवै कुराले अनुपलाई छुट्टै एनर्जी दिन्छ । दुवै म्युजिकलाई सन्तुलित ढंगले अगाडि बढाउन उनी चाहन्छन् । अहिले उनी कान्तिपुर फिल्म एकेडेमीमा चलिरहेको 'महाभारत' नाटकमा लाइभ म्युजिक गरिरहेका छन् । यो भन्दा आगाडि उनले सेतो धर्ती नाटकमा म्युजिक दिएका थिए ।
हरेक सफल नाटकको पछाडि कलाकारको अभिनय मात्र होइन, संगीतको पनि उत्तिकै महत्व हुन्छ । दर्शकले देख्ने अभिनयलाई जीवन्त बनाउने त्यो स्वर र संगीतको संसार कस्तो हुन्छ ? महाभारत नाटकमा लाइभ भोकल र गीतारमार्फत कथालाई जीवन दिने गायक अनुप तिमिल्सिनासँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौं ।
१) महाभारत नाटकमा तपाईं गायक होइन, कथावाचनको एउटा पात्र हुनुहुन्छ। तपाईंको संगीतले कथालाई कसरी अघि बढाउँछ ? यो जिम्मेवारीलाई कसरी महसुस गर्नुहुन्छ ?
महाभारतमा धेरै पात्रहरू हुनुहुन्छ । उहाँहरुको भावना अनुसार मनोविज्ञान अध्ययन गरेर म्युजिकलाई प्रस्तुत गर्नुपर्छ । यसले कथालाई एकदमै प्रभावकारी बनाउँछ । कहिलेकाही उस्तै भावनामा खेल्ने की विपरीत भावनामा खेल्ने भन्ने हुन्छ। यसलाई मैले एकदम प्रयोगात्मक तरिकामा नै गरिहेको हुन्छु । हरेक नाटक कठिन छ । गार्है हुन्छ । अनि त्यसलाई प्रक्रियागत हिसाबले कसरी संयमित तरिकाले लाने भन्नेमा जानैपर्छ । नाटकलाई सजिलै पनि लिन सकिदैंन । पात्रहरु बुझ्दै जाँदा, उहाँहरुको हाउभाउहरु बुझ्दै जादा सहज भए जस्तो पनि हुन्छ । तर, गहिरो रुपमा हेर्दा गार्हो छ ।
२) मञ्चमा हरेक संवाद, कलाकारको गति र दृश्यसँगै एक सेकेन्ड पनि तलमाथि नहुने गरी लाइभ संगीत बजाउनुपर्छ । यो टाइमिङ मिलाउनु कत्तिको कठिन हुन्छ ? दर्शकले नदेख्ने सबैभन्दा ठूलो चुनौती के हो?
उहाँहरुको सानु-सानु स्टेप्सहरु हुन्छ । लाइभ याक्ट हुने भएको हुनाले हरेक दिन त्यही फेजमा सहज तरिकाले जान्छ भन्ने छैन । त्यहीँ भएर एकदम ध्यान दिएर हेरिरहनु पर्छ कलाकारहरुलाई । कहिलेकाहीँ उहाँले ३ स्टेप लिइदिनु हुन्छ कहिले काहीँ २ स्टेप लिइदिनुहुन्छ । कोरियोग्राफीमा कहिले काहीँ तलमाथि हुनसक्छ । तर एकदम सचेत भएर हेरेर गर्न सकिन्छ । अब म म्युजिक बजाई रहेको छु, डुबेर लस्ट भएर बजाईरहेको छु भन्न मिल्दैन । उहाँहरुलाई ध्यान दिएर हेरेर , उहाँहरुको हाउभाउ बुझेर नै गर्नुपर्छ । यो त् एकदमै तयारी अवस्थामा बस्नु पर्छ ।
३) कन्सर्ट, स्टुडियो वा अन्य मञ्चमा गाउनु र थिएटरमा प्रत्यक्ष अभिनयसँगै संगीत प्रस्तुत गर्नुबीच सबैभन्दा ठूलो अन्तर के महसुस गर्नुभएको छ ?
पहिलो त् कामै फरक छ । थिएटरमा उहाँहरुको इमोसनमा खेल्ने कुरा भयो भने कन्सर्टहरुमा पर्फर्म गर्दा आफूले पहिलै कम्पोज गरेको गीत हुन्छ, म्युजिक हुन्छ त्यसलाई प्रस्तुत गर्ने हो । त्यसैले धेरै फरक छ । कन्सर्टमा मनलाग्दी रमाउन सकिन्छ । आफ्नो किसिमको आयामहरू सिर्जना गर्न सकिन्छ । थिएटरमा त्यो गर्न पाइएन । कसरी डिजाइन गरिएको छ, याक्टरहरु कसरी खेल्नु हुन्छ त्यहीँ अनुसार जानु पर्ने हुन्छ ।
४) दर्शकले अन्तिम प्रस्तुति मात्रै देख्छन्। तर पर्दा पछाडि संगीतकर्मीले गर्ने अभ्यास, मानसिक अवस्था र अनुशासन कति कठोर हुन्छ?
कठोर चाहिँ कठोर नै हुन्छ । जस्तै अब बाहिर व्यापारिक म्युजिक गरिरहेको संगीतकारहरु थियटर म्युजिकमा एकै चोटि आउँदा अनुशासित र धैर्य भएर बस्न कठिन नै भएको देखिरहेको हुन्छ । मलाई पनि गार्हो भएको थियो सुरुमा । म पनि व्यापारिक म्युजिकबाटै थियटरमा आएको । थियटर म्युजिकमा आउँदा त्यो धैर्यता र ध्यान पूर्वक हेर्नुपर्ने कुरामा मलाई पनि गार्हो भएको थियो । तर यो सबै अभ्यास हो । बिस्तारै यसैलाई इन्जोय गर्दै गइयो । यहीँ सजिलो हुँदै गयो । तर यसलाई एकदमै गाह्रो काम सोच्दै गइयो भने यहीँ नै गार्हो हुँदै जान्छ । तिमीले कसरी काम गर्छौ भन्ने कुरामा भर पर्छ।
५) धेरैजसो मानिसले थिएटर भनेपछि अभिनेता मात्रै सम्झन्छन्। तपाईंको अनुभवमा, एउटा नाटक सफल बनाउन लाइभ संगीतको भूमिका कति निर्णायक हुन्छ?
लाइभ म्युजिकको राम्रै महत्व छ । कुनै घटना होस् वा इमोसन बढाउने काम गर्छ । पूर्ण रुपमा म्युजिकलाई मात्रै भरोसा गरेर जान सकिदैंन । यो एउटा तत्व हो याक्टलाई राम्रो गर्नका लागि । थियटर म्युजिकले धेरै नै रोल खेल्छ । जस्तै धेरै सुख्खा भयो भने नराम्रो अपूर्ण सुनिन सक्छ । तर मौनता पनि चाहिन्छ । त्यो सबैलाई सन्तुलन गरेर लानु पर्छ ।
६) यदि आज सरकार, निर्माता र निर्देशकहरू सबैले तपाईंको कुरा सुनिरहेका छन् भने, थिएटरका संगीतकर्मी र प्राविधिक कलाकारको सम्मान, पारिश्रमिक र अवसरका बारेमा तपाईं के भन्न चाहनुहुन्छ?
पारिश्रमिक र अवसरको कुरामा चाहीँ के कतिले आफूलाई चित्त बुझाउँछु भन्ने कुरा नै हुन्छ । राज्यबाट त्यस्तो केही घोषणा भएको छैन । हुन् पनि गार्है हुन्छ। मैले कति दिइरहेको छु र कति लिइरहेको छु भन्ने कुरामा आफू सन्तुष्ट छु कि छैन भन्ने कुराले निर्धारण गर्छ । जस्तै मैले धेरै दिने हो कि धेरै लिने हो अथवा त्यसको असर के हुन्छ ? मैले दिइरख्दा खेरि अरु चीजहरुले मलाई के-के फाइदा गरिरहेको छ ? जस्तै आत्मसन्तुष्टि भइरहेको छ कि छैन ? मैले दर्शक पाइरहेको छु कि छैन ? त्यो एकदमै अमूल्य छ । म व्यक्तिगत रुपमा पारिश्रमिकको कुरामा मात्र निर्धारण हुँदिन धेरै कुराहरुले मलाई गासिएर आएको हुन्छ ।
उहाँहरुले गर्दिनु पर्ने कुरा भनेर त्यस्तो त् छैन तर यदि केही कुरामा सहभागी भइएको छ, कुनै आर्टमा कुनै संरचना अथवा कुनै पर्फर्मेन्समा सहभागी भइएको छ भने आर्टिस्टलाई सबै भन्दा ठूलो कुरो चाहिने भनेको पहिचान हो । त्यसले धेरै प्रेरित गर्छ । त्यो कुराहरुलाई मध्यनजर गरियो भने अरु कामहरुको निम्ति उर्जा मिल्छ ।
७) थिएटरमा आउने दर्शकले कलाकार मात्र होइन, संगीतकार, प्राविधिक र सम्पूर्ण टोलीको मेहनतलाई पनि कसरी बुझून् भन्ने तपाईंको चाहना छ ?
मलाई के लाग्छ भने यदि कुनै चिज राम्रो भएको छ, एकदमै आकर्षक डिजाइन भएको छ र त्यसलाई राम्ररी कार्यान्वयन गरिएको छ भने त्यो सबै कुराहरुले गरेर हो भन्ने कुरा दर्शकहरुले आफैं बुझ्नु हुन्छ । यो एउटा सम्पूर्ण टिमको काम नै हो । हरेक थिएटर प्ले पछाडि सबै जनालाई परिचय गराउँदा, पर्दा पछाडि भएको क्यु मेम्बर, स्टाफहरु, लाइट म्यान , म्युजिसियन सबैलाई परिचय गराउँछौ । त्यो गराई राख्दा उहाँहरुले बुझ्नु हुन्छ यो एउटा सम्पूर्ण टिमकै काम रहेछ । यो प्ले सबैको कारणले राम्रो भएको बुझ्नु हुन्छ जस्तो लाग्छ ।



