Harsamaya
खाडिचौरमा देउवा पक्षको सम्पर्क कार्यालय, अधिवेशनका लागि तयारी तीव्र
खाडिचौर बजारमा सम्पर्क कार्यालय स्थापनापछि सामुहिक फोटो खिचाउँदै जिल्ला संयोजक लालकाजी तामाङलगायत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले सिन्धुपाल्चोकमा १५औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ। जिल्ला संयोजक लालकाजी तामाङले बलेफी गाउँपालिका–८ खाडिचौर बजारमा सम्पर्क कार्यालय स्थापना गरेर तयारी तीव्र बनाएको जानकारी दिए । 

सम्पर्क कार्यालयको उद्घाटन जिल्ला संयोजक तामाङले बाजागाजासहित गरेका हुन्। आगामी वडा अधिवेशनको तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा जिल्लामा पार्टीका गतिविधि सञ्चालन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको तामाङले बताए।

देउवा पक्षले सिन्धुपाल्चोकमा महाधिवेशन तयारीको जिम्मेवारी तामाङलाई दिएको छ। तामाङका अनुसार यही सम्पर्क कार्यालयबाट असोज १६ गते हुने वडा अधिवेशनको तयारी अघि बढाइनेछ। देउवा पक्षले देशभर छुट्टै कार्यतालिकाअनुसार वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ।

कार्यालय उद्घाटनका क्रममा तामाङले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने दाबी गर्दै नेता तथा कार्यकर्तालाई अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

सिन्धुपाल्चोक कांग्रेस नेता मोहनबहादुर बस्नेतको गृहजिल्ला भएकाले देउवा पक्षले यहाँ अघि बढाएको समानान्तर अधिवेशन तयारीलाई चासोका साथ हेरिएको छ। जिल्लामा स्थापना गरिएको नयाँ सम्पर्क कार्यालयले आगामी वडा अधिवेशनमा देउवा पक्षको संगठनात्मक सक्रियता कति प्रभावकारी हुन्छ भन्ने परीक्षणसमेत गर्नेछ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update