सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकमा प्रदेशसभा र क्षेत्रीय अधिवेशन यही असोज १० गते मेलम्चीमा हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा प्रदेश तथा क्षेत्रीय तहको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।
यसैक्रममा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’ को सभापति पदमा देव कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्। उनले सुशासन, विकास, समावेशी समृद्धि, प्रविधिमैत्री कांग्रेस र चुनौतीपूर्ण अवस्थामा सशक्त संगठन निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
कुनै बेला बाडेगाउँलाई कांग्रेसको संगठन नै नभएको क्षेत्रका रूपमा चिनिन्थ्यो। बाडेगाउँ पर्ने उक्त क्षेत्र राप्रपाको गढका रूपमा परिचित थियो। कांग्रेसको पक्षमा खुलेर लाग्नु त्यतिबेला सहज थिएन।
२०५१ सालको निर्वाचनमा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार विनोद मोक्तानको चुनावी प्रचारप्रसारमा खटिएका कोइरालाले त्यसबेला कांग्रेसमा लागेको भन्दै आफ्नो घरमाथि पटक–पटक ढुंगामुढा भएको विगत स्मरण गर्छन्।
‘चुनावको बेला जहिले पनि घरमाथिबाट गुलेली र ढुंगा हान्थे। घरको छाना तोडफोड भएपछि पानी चुहिन्थ्यो,’ विगत सम्झिँदै उनले भने, ‘माओवादी, एमाले र राप्रपाले प्रचारप्रसार गर्न पाउँदैनस् भनेर रोक्थे। कांग्रेस भनेर हप्काउँथे। धम्क्याउँदै खुकुरी देखाउँथे।’
आफ्नो भेगमा कांग्रेस बन्ने आफू मात्रै भएकाले आफूमाथि त्यस्तो दबाब र प्रहार हुने गरेको उनको भनाइ छ। चुनौतीका बाबजुद पनि उनले कांग्रेसको राजनीति छाडेनन्। २०५३ सालमा उनी ऐसेलुखर्क माध्यमिक विद्यालयको इकाई सभापति बने।
‘हाम्रो भेगमा कांग्रेसको संगठन थिएन। आफू एक्लै भए पनि कांग्रेसमा लागिरहेँ। अहिले धेरै जना कांग्रेस बनिसकेका छन्। सबैको सहयोग पाउनेमा ढुक्क छु,’ उनले भने।
कोइराला लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन्। उनी गत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट इन्द्रावती गाउँपालिका–६ को वडाध्यक्ष पदका प्रत्यासीसमेत थिए।
हाल उनी नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य छन्। उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’ को महाधिवेशनमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्दै प्रदेश प्रतिनिधिसमेत निर्वाचित भएका थिए।
प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै कोइरालाले अहिलेको चुनौतीपूर्ण अवस्थामा संगठनलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनले कांग्रेसलाई समयअनुकूल बनाउन प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट संगठनलाई जोड्नुपर्नेमा जोड दिएका छन्।
‘सुशासन र विकाससँगै सबै समुदायको समान सहभागिताबाट समावेशी समृद्धि हासिल गर्नुपर्छ। बदलिँदो समयसँगै कांग्रेसलाई प्रविधिमैत्री बनाउन आवश्यक छ,’ कोइरालाले भने, ‘अहिलेको चुनौतीपूर्ण अवस्थामा संगठनलाई थप सशक्त र एकताबद्ध बनाएर जनताको विश्वास जित्ने मेरो लक्ष्य हो।’
बाडेगाउँमा कांग्रेसको संगठन कमजोर रहेको समयदेखि पार्टीमा सक्रिय रहँदै आएका कोइरालाले आफ्नो लामो राजनीतिक यात्रा, संगठन निर्माणको अनुभव र नयाँ पुस्ताको चाहनालाई प्रदेश नेतृत्वमा जोड्न उम्मेदवारी दिएको बताएका छन्।

