सिन्धुपाल्चोक - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवबहादुर सुनारले नेतृत्व लिन देखाएको ऊर्जा र सक्रियता नेतृत्वमा पुगेपछि पनि कायम राख्नुपर्ने बताएका छन्।
हिजो नवलपुरमा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाको १५औँ अधिवेशनलाई सम्बोधन गर्दै सुनारले वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेतृत्व पाएपछि संगठन निर्माणमा अझ सक्रिय हुनुपर्ने बताए।
उनले अधिवेशनका क्रममा नेतृत्व लिन जुन प्रकारको रस्साकस्सी र ऊर्जा देखिने गरेको छ, त्यही ऊर्जा निर्वाचित भइसकेपछि कार्यसमितिमा पनि देखिनुपर्ने बताए।
“नेतृत्व हत्याउन जुन ऊर्जा देखिन्छ, पछि कार्यसमितिमा पनि त्यही ऊर्जा देखिनुपर्छ, कायम हुनुपर्छ। कतै नेतृत्व हत्याउने रस्साकस्सी हुन्छ, पछि नेतृत्व पाएपछि त्यो ऊर्जा विलय हुनु भएन,” सुनारले भने।
उनले नेतृत्व प्राप्त गर्नु नै अन्तिम उपलब्धि नभएको भन्दै त्यसपछि संगठनलाई बलियो बनाउन जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। निर्वाचित नेतृत्वले पार्टीका कार्यकर्ता, समर्थक तथा जनतासँग निरन्तर जोडिएर संगठनलाई गतिशील बनाउनुपर्ने उनको भनाइ थियो।
सुनारले अधिवेशनबाट निर्वाचित वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउन भूमिका खेल्न आग्रह गरे।

