Harsamaya
टिकट लिन सानेपा धाउनु पर्दैन :  बंशलाल तामाङ
नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बंशलाल तामाङ ।


सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बंशलाल तामाङले पार्टीको टिकट लिन अब सानेपा धाउनुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाको १५औँ अधिवेशनलाई बुधबार नवलपुरमा सम्बोधन गर्दै तामाङले नेताको चाकडी गरेर टिकट हत्याउने कांग्रेसको अन्त्य भएको बताएका हुन्।

उनले पार्टीमा सक्रिय भएर जनताको घरदैलोमा पुग्ने र जनतासँग जोडिएर काम गर्नेले नै आगामी निर्वाचनमा टिकट पाउने बताए।

‘कर्म गर्नुस्, चाकडी गरेर हिँड्नुपर्दैन,’ तामाङले भने।

कांग्रेसले यसपटक कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी निर्वाचनमा जाने तयारी गरिरहेको बताउँदै उनले वडा तहदेखि पालिकासम्मको नेतृत्वका लागि उम्मेदवार छनोट गर्दा क्रियाशील सदस्यबाट सर्वेक्षण गरिने बताए। त्यससँगै बुद्धिजीवी तथा आमजनताबाट समेत उम्मेदवारको मूल्यांकन र सर्वेक्षण गरिने उनको भनाइ थियो।

नेतृत्वमा पुगेपछि मात्रै टिकट पाइन्छ भन्ने मनोविज्ञानको अन्त्य गर्नुपर्नेमा जोड दिँदै तामाङले पार्टीमा निरन्तर सक्रिय रहने र जनतामाझ स्थापित हुने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए।

अधिवेशनले केवल पार्टीको नेतृत्व परिवर्तन गर्ने नभई बदलिएको कांग्रेसलाई जनतामाझ व्यवहारबाटै प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसको जरा स्थानीय तह भएको बताउँदै उनले स्थानीय तहमा पार्टीलाई अझ मजबुत बनाउन अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस्तै, तामाङले वर्तमान बालेंद्र शाह नेतृत्वको सरकारप्रति आलोचना गर्दै लोकतान्त्रिक शक्तिहरू एक भएर सरकारका गतिविधिको खबरदारी गर्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ७ गते गाउँपालिका तथा नगरपालिकाको अधिवेशन गर्ने कार्यतालिका रहेको थियो।
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update