सिन्धुपाल्चोक - बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) ले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आगामी असोज १० गते शनिबार हुने नेपाली कांग्रेसको प्रदेशसभा तथा क्षेत्रीय अधिवेशनमा क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी दिने घोषणा तामाङले गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै तामाङले नेपाली कांग्रेसलाई अझ एकताबद्ध, सुदृढ, गतिशील र जनमुखी संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अग्रजको अनुभव र युवाको ऊर्जा तथा नयाँ सोचलाई सँगसँगै लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
तामाङ २०७९ सालको प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। उनी बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
स्थानीय तहको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका तामाङ २०७४ सालमा वडा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेश सरकारको मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका हुन्।
क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै तामाङले पार्टी संगठनलाई थप मजबुत बनाउँदै सबै पुस्ता र पक्षलाई समेटेर अघि बढ्ने बताएका छन्।

