काठमाडौँ - सुदूरपश्चिमको माटोमा उम्रिएको लोकविश्वास, भारततर्फ रोजगारीका लागि जानुपर्ने पुस्तौँदेखिको बाध्यता र हराउँदै गएका सम्बन्धको खोजीलाई कथाको धागो बनाएर तयार पारिएको नाटक ‘श्री बिज्जो भूत’ अहिले मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको छ ।
डडेल्धुराको निङ्लाङ गाउँमा पुस्तौँदेखि जीवित रहेको ‘श्री बिज्जो भूत’प्रतिको विश्वासबाट कथा सुरु हुन्छ । तर मञ्चमा उभिँदै जाँदा यो कथा एउटा भूत, एउटा गाउँ वा सुदूरपश्चिमको मात्रै रहँदैन । यो आफ्ना मान्छे खोज्दै परदेशिएका, छुटेका सम्बन्ध सम्झँदै बाँचेका र अन्ततः आफ्नै अस्तित्व खोजिरहेका नेपालीहरूको साझा कथा बन्न पुग्छ ।
दिवस नाथको लेखनमा तयार भएको नाटकमा एउटी युवती आफ्ना बुबाको खोजीमा एक अपरिचित व्यक्तिसँग बम्बईतर्फको यात्रा तय गर्छिन् । त्यो यात्रा केवल दूरी पार गर्ने यात्रा हुँदैन । बाटोमा भेटिने मानिस, सम्बन्ध, संघर्ष, विश्वास, अविश्वास र रहस्यले उनलाई क्रमशः आफ्नै जीवन र पहिचानतर्फ फर्काउँदै लैजान्छ ।
नाटकले सुदूरपश्चिमको समाजलाई केवल अभाव, गरिबी वा पीडाको फ्रेममा राख्दैन । स्थानीय भाषा, लोकविश्वास, कला, संस्कृति र मानवीय सम्बन्धसँगै भारतसँग जोडिएको सामाजिक, आर्थिक र राजनीतिक सम्बन्धलाई समेत कथाको तहमा ल्याइएको छ । रोजगारीका लागि घर छाड्नुपर्ने बाध्यता र त्यसले परिवार तथा समाजमा पार्ने भावनात्मक असर नाटकका महत्वपूर्ण पाटा हुन् ।
मञ्चमा कलाकारको अभिनयसँगै बज्ने प्रत्यक्ष संगीत ‘श्री बिज्जो भूत’को अर्को बलियो पक्ष हो । सौरभ चालिसे, जीवन राई र हरिना नाथको संगीतले संवादले भन्न नसकेका भावलाई समेत दर्शकसम्म पुर्याउँछ । कतिपय क्षणमा मञ्चमा बजिरहेको संगीतभन्दा दर्शकको मनभित्र बजिरहेको आफ्नै स्मृति ठूलो सुनिन्छ ।
दृश्य, अभिनय, संगीत र कथावाचनको यही संगमले नाटकलाई केवल हेर्ने विषयमा सीमित राख्दैन, महसुस गर्ने अनुभवमा बदलिदिन्छ । मञ्चमा प्रस्तुत कथा कहिलेकाहीँ आफ्नै घरको, आफ्नै बुवाआमाको, आफ्नै गाउँको वा कहिल्यै नफर्किएको कसैको सम्झनाजस्तो लाग्छ ।
पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नाटकले सुदूरपश्चिमको समाजमा जरा गाडेको अन्धविश्वास र लैङ्गिक विभेदलाई उजागर गर्दै समाज रूपान्तरणको महत्वपूर्ण सन्देश दिएको बताएका छन् । उनका अनुसार महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा रहेको विभेदकारी यथार्थलाई नाटकले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । सम्बन्धित भूगोलमै पनि नाटक प्रदर्शन गर्न सके यसको प्रभाव अझ बढ्ने उनको धारणा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद डा. ताराप्रसाद जोशीले नाटकमा सुदूरपश्चिमको समाज, बसाइँसराइ र जनजीवनको यथार्थ अत्यन्तै सटिक रूपमा आएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र र तेलेको लेकको परिवेशसँग नाटकको कथा जोडिएको उल्लेख गर्दै उनले मानिसहरू निरन्तर सहरतर्फ पलायन भइरहेको विषयलाई संसद्मा समेत उठाउने बताएका छन् ।
त्यस्तै, रास्वपाका संघीय सांसद तथा युवा नेता केपी खनालले ‘श्री बिज्जो भूत’ले सुदूरपश्चिमको भूगोल, संस्कृति र जनजीवनलाई मञ्चमा ल्याएर नेपाली नाट्य क्षेत्रमा नयाँ आयाम थपेको बताए । नाटकले आफूलाई विगतमा सुदूरपश्चिमका बुवाआमाले बाहिर गएका आफन्तलाई पठाउने पत्रहरूको सम्झना गराएको र आफू भावुक बनेको उनले बताए । मौलिक नेपाली कथालाई डिजिटल पुस्तासम्म पुर्याउन यस्ता नाटकलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ ।
मण्डला थिएटर ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीसमेत रहेका निर्देशक आकाश नेपाली भने आफ्नै कथा आफ्नै शैलीमा भन्नुपर्छ भन्ने विश्वासबाट नाटक जन्मिएको बताउँछन् ।
“आफ्नो कथा आफैँले भन्नुपर्छ भन्ने कुरामा म एकदमै विश्वास गर्छु । मेरो कथा मैले भनिनँ भने अरूले भन्छ, तर आफ्नै शैलीमा भन्दिन्छ । त्यसैले यो कथा मेरो हो, हाम्रो हो र आफ्नै तरिकाले भनेका छौँ ।”
नेपालीका अनुसार सुदूरपश्चिमलाई छाउपडी, महिनावारी, गरिबी र दुःखको एउटै परिचित दृष्टिबाट मात्रै हेर्न मिल्दैन । भारतसँगको सुदूरपश्चिमको सामाजिक, आर्थिक र राजनीतिक सम्बन्धका गहिरा पाटासमेत छन्, जसलाई नाटकले उजागर गर्ने प्रयास गरेको छ ।
‘श्री बिज्जो भूत’ अन्ततः भूतको कथा होइन । यो विश्वास र अविश्वासबीच उभिएको कथा हो । छुटेका सम्बन्धको खोजी हो । घरबाट टाढा पुगेका मानिसको मनभित्र बाँकी रहेको घरको कथा हो । र, अरूलाई खोज्दै हिँड्दा कतै बाटोमै आफूलाई भेटिने कथा हो ।
सुदूरपश्चिमको माटोबाट सुरु भएको यो कथा मण्डलाको मञ्चमा आइपुग्दा भूगोलभन्दा ठूलो बन्छ । आफ्ना मान्छे गुमाउने, खोज्ने र सम्झिने सबै नेपालीको कथा ।
‘श्री बिज्जो भूत’ असोज ६ देखि असोज २५ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । नियमित शो हरेक दिन साँझ ५:३० बजे र शनिबार तथा आइतबार अतिरिक्त शो दिउँसो १:३० बजे हुनेछ ।
टिकट दर विद्यार्थीका लागि ३०० रुपैयाँ, सामान्यतर्फ ५०० रुपैयाँ र प्रिमियमका लागि १ हजार रुपैयाँ तोकिएको छ । टिकट बुकिङका लागि मण्डला थिएटरको ०१-५२४५१४७ मा सम्पर्क गर्न सकिनेछ । अनलाइन बुकिङ मण्डला थिएटरको आधिकारिक बुकिङ माध्यमबाट गर्न सकिनेछ ।
तस्वीरहरु :-

