Harsamaya
काग तिहारले सम्झाउँछ : पृथ्वी सबै प्राणीको साझा घर
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन शनिबार घरघरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ । कागलाई यमराजको सन्देशवाहकका रूपमा सम्मान गर्ने धार्मिक परम्परासँगै यस पर्वले प्रकृति र सम्पूर्ण प्राणीप्रतिको सद्भाव तथा संरक्षणको सन्देशसमेत प्रवाह गर्दछ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा बिहानै घरआँगनमा कागलाई बोलाएर मिठा परिकार खुवाउने चलन छ । धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिइने भएकाले पूजा नगरे र खानेकुरा नदिए पाप लाग्ने विश्वास रहिआएको छ । यमराजले पृथ्वीमा रहेका जीवित प्राणीको जन्म र मृत्युको विवरण आदानप्रदान गर्न कागलाई दूत नियुक्त गरेको पौराणिक मान्यता छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले भने काग तिहारको धार्मिक पक्षसँगै यसको मूल सन्देशलाई प्राणीप्रतिको सद्भाव र संरक्षणसँग जोडेर व्याख्या गरेका छन् । उनका अनुसार नेपाली सनातन सभ्यता मानवकेन्द्रित मात्रै नभई प्रकृति र मानवेत्तर प्राणीलाई समेत सम्मान गर्ने उदात्त परम्परामा आधारित छ ।

‘हामी वसुधैव कुटुम्बकम् भन्छौँ । सम्पूर्ण पृथ्वी नै हाम्रो एउटै परिवार हो । मानव मात्रै नभएर मानवेत्तर प्राणीलाई पनि हामी एउटै रूपमा लिन्छौँ,’ अध्यक्ष भट्टराईले भने ।

उनका अनुसार काग तिहार र भोलिपल्ट मनाइने कुकुर तिहारमा काग तथा कुकुरलाई यमदूतका रूपमा पूजा गर्ने परम्परा छ । धर्मराजको सम्मान गर्नुअघि उनका दूतहरूको सम्मान गर्ने धार्मिक भावनाका आधारमा यी पर्व मनाइने गरेको उनले बताए ।

‘विशिष्ट व्यक्तिलाई सम्मान गर्दा उनीसँग आएका व्यक्तिहरूलाई पनि सम्मान गर्छौँ । त्यसैगरी धर्मराजका दूत भएकाले काग र कुकुरको पूजा गरिएको हो भनेर बुझ्दा सहज हुन्छ,’ उनले भने ।

काग तिहारको पूजा कर्मकाण्डमा मात्रै सीमित नरहेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यसको मुख्य उद्देश्य सबै प्राणीप्रति सद्भाव राख्नु र उनीहरूको उचित संरक्षण गर्नु रहेको बताए । पूजा गर्दा वैदिक मन्त्र तथा विभिन्न विधि प्रयोग गर्न सकिने भए पनि श्रद्धा र सद्भावका साथ गरिएको पूजाको पनि उत्तिकै महत्त्व हुने उनको भनाइ छ ।

‘जान्ने र सामर्थ्य हुनेले मन्त्र प्रयोग गरेर पूजा गर्न सक्छन् । नभए सद्भाव राखेर प्राणीको पूजा गर्दा पनि राम्रो हुन्छ,’ उनले भने ।

नेपाली सनातन परम्परामा नागपञ्चमीमा नाग, कुश तथा तुलसीको पूजा गर्ने र विभिन्न प्राणी तथा वनस्पतिलाई सम्मान गर्ने चलनले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई दर्शाउने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार काग तिहारमा एक दिन पूजा गरेर मात्रै दायित्व पूरा हुँदैन, प्राणीप्रतिको सम्मान र संरक्षण सधैँ कायम राख्नुपर्छ ।

‘यो एक दिन मात्रै होइन, सधैँभरि नै प्राणीप्रति सद्भाव राख्नुपर्छ । कुनै पनि प्राणीको उचित संरक्षण गर्नुपर्छ भन्ने हाम्रो मूल आशय हो,’ उनले स्पष्ट पारे ।

काग तिहारसँगै सुरु हुने यमपञ्चकले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने गर्दछ । तिहारको पहिलो दिन कागको पूजा गरिँदा यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई स्मरण गराउने विश्वास गरिन्छ ।

आजै उदयकालीन त्रयोदशीका आधारमा धनवन्तरी जयन्तीसमेत मनाइँदै छ । आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको जन्मोत्सवका रूपमा मनाइने यस दिनले स्वास्थ्य र आरोग्यको महत्त्वलाई समेत उजागर गर्दछ ।

काग तिहारको सार केवल कागलाई खानेकुरा दिनु होइन, प्रकृतिमा रहेका हरेक प्राणीलाई सम्मान गर्दै उनीहरूको संरक्षण गर्नु हो । यही सन्देशलाई आत्मसात् गर्दै यमपञ्चकको सुरुवात भएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update