काठमाडौं - दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइलाई भाइटीका लगाइदिने उद्देश्यले अञ्जली दिदीले सुरु गरेको सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश गरेको छ। काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा उनले हरेक वर्ष दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छन्।
भाइटीकाको अवसरमा हामीसँगको कुराकानीमा अञ्जली दिदीले भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई स्नेह, माया र ममता बाँड्न पाऊँ भन्ने उद्देश्यले सामूहिक भाइटीका सुरु गरेको बताइन्।
‘भगवानको आशीर्वाद हो। भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई भाइटीका गरेर स्नेह, माया, ममता सबैलाई दिन पाऊँ भनेर मैले जुन उद्देश्यले गरेको थिएँ, भगवानकै आशीर्वादले यो काम गर्न सकेँ,’ उनले भनिन्।
उनका अनुसार सुरुमा १०८ जना दाजुभाइलाई भाइटीका लगाउने सोचका साथ यो परम्परा सुरु गरिएको थियो। दोस्रो वर्षदेखि सहभागीको संख्या बढ्दै गएपछि २०८ जनाका लागि सगुनलगायतका सामग्री तयार गर्न थालिएको उनले बताइन्।
२८ वर्षको अवधिमा ८० वर्षदेखि १०१ वर्षसम्मका ज्येष्ठ नागरिकसमेत भाइटीका लगाउन आएको अनुभव उनले सुनाइन्। पहिले आउने कतिपय दाजुभाइ अहिले नरहे पनि नयाँ पुस्ताका दाजुभाइको सहभागिता र उत्साह देखेर आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ छ।
‘पहिलेभन्दा अहिले झन् बढी उत्साह भएर आउनुभएको जस्तो लाग्छ। जति पनि २५–२८ वर्षदेखि आउनुभएको छ, उहाँहरूमध्ये कतिपय अहिले हुनुहुन्न। तर उहाँहरूसँगै नयाँ दाजुभाइ पनि उत्साहित भएर आउनुभएको देख्दा खुसी लाग्छ,’ उनले भनिन्।
सामूहिक भाइटीकाको २५ वर्ष पूरा भएको अवसरमा आफूले २५ वर्षदेखि निरन्तर भाइटीका लगाउन आउने पाँच जना दाजुभाइलाई विशेष सम्मान गरेको पनि उनले बताइन्। त्यस अवसरमा शिव मन्दिरमा उनीहरूलाई उभ्याएर सम्मानस्वरूप भाइटीका लगाइएको थियो।
अञ्जली दिदीका अनुसार कतिपय दाजुभाइ कुनै कारणले भाइटीका लगाउन आउन नसके फोन गरेर सम्झिने गर्छन्। कोही मन्दिरमा आउन नसके घरमै पुग्ने गरेको उनले सुनाइन्।
‘दाजुभाइहरूले यति धेरै माया दिनुहुन्छ भन्ने मैले सोचेकी थिइनँ। हामीले उहाँहरूलाई जति माया र श्रद्धा गर्यौँ, उहाँहरूले पनि हामीलाई त्यति नै माया गर्नुहुँदो रहेछ। यही स्नेह र ममताले मलाई झन् हौसला दिएको छ,’ उनले भनिन्।
यो परम्परालाई निरन्तरता दिन परिवार, दिदीबहिनीका सन्तान तथा सञ्चारमाध्यमबाट समेत सहयोग पाएको उनले बताइन्। परिवारको साथ र दाजुभाइको मायाले आफूलाई कामप्रति निराश हुन नदिएको उनको भनाइ छ।
आफ्नो उमेर र स्वास्थ्यले साथ दिएसम्म सामूहिक भाइटीकालाई निरन्तरता दिने उनको चाहना छ। ‘जब भगवानले साथ दिनुहुन्छ, त्यतिबेलासम्म म गर्दै जान्छु। सकेसम्म आफ्नै हातले टीका लगाउँछु। उभिन नसके कुर्सीमा बसेर भए पनि दाजुभाइलाई टीका लगाउने इच्छा छ,’ उनले भनिन्।
उनले भाइटीका लगाउन आउने सबै दाजुभाइलाई दिदीको आशीर्वाद र भगवान्को कृपा सधैँ रहिरहोस् भन्दै सुखी र खुसी जीवनको कामनासमेत गरेकी छन्।

