Harsamaya

काठमाडौं - तिहारमा गाईपूजाको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ। सनातन संस्कृतिमा गाईलाई विश्वकी माता, लक्ष्मीको स्वरूप र देवताहरूको बासस्थानका रूपमा मान्दै पूजा गर्ने परम्परा रहिआएको छ। यस वर्ष भने गाईपूजा कात्तिक २३ गते सोमबार नै मनाउनुपर्ने भएको छ। सामान्यतया प्रतिपदाका दिन गाईपूजा गर्ने चलन रहे पनि यस वर्षको तिथिगत अवस्था र चन्द्र उदयको समयका कारण अघिल्लो दिन नै पूजा गर्नुपर्ने निर्णय गरिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार गाईपूजाको दिन राति चन्द्रमा उदाउने अवस्था रहेकाले धर्मशास्त्रीय मान्यताअनुसार त्यस दिन गाईपूजा गर्नु उपयुक्त हुँदैन। त्यसैले औँसी समाप्त भएपछि प्रतिपदा सुरु भएको अवस्थामा कात्तिक २३ गते नै गाईपूजा गर्ने गरी पञ्चाङ्गमा उल्लेख गरिएको उनले बताए।

भट्टराईका अनुसार गाईलाई सनातन संस्कृतिमा विशेष स्थान दिइएको छ। गाईलाई लक्ष्मीको अवतारका रूपमा मान्ने र गाईको शरीरका प्रत्येक अंगमा देवताहरूको बास रहने धार्मिक विश्वासका आधारमा पूजा गर्ने परम्परा छ। गाईको महत्व सनातन संस्कृतिमा मात्रै सीमित नभई विश्वका विभिन्न समुदायले पनि आ–आफ्नै रूपमा स्वीकार गरेको उनको भनाइ छ।

‘हाम्रो संस्कृतिमा गाईलाई ‘गावो विश्वस्य मातरः’ अर्थात् गाई विश्वकी माता हुन् भन्ने मान्यता छ। गाईलाई लक्ष्मीको अवतारका रूपमा पनि मानिन्छ। गाईको रोम–रोममा देवताहरूको बास हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले हामी गाईको पूजा गर्छौँ,’ उनले भने।

चन्द्र उदय हुने भएकाले अघिल्लो दिन पूजा
भट्टराईका अनुसार सामान्यतया गाईपूजा प्रतिपदाका दिन गर्ने धार्मिक परम्परा छ। तर, यस वर्ष प्रतिपदाका दिन राति चन्द्रमा उदाउने भएकाले गाईपूजाको मिति अघिल्लो दिन सारिएको हो।

उनले औँसीको दिन साँझ लक्ष्मीपूजा गरेपछि गाईलाई निमन्त्रणा गर्ने र त्यसपछि प्रतिपदामा गाईपूजा गर्ने परम्परा रहेको बताए। तर, प्रतिपदाका दिन चन्द्रमा उदाउने अवस्था भएमा गाईपूजा गर्न नहुने धर्मशास्त्रीय मान्यता रहेको उनको भनाइ छ।

‘गाईपूजा गरेको दिन राति चन्द्र दर्शन भयो भने अनिष्ट हुन्छ भन्ने शास्त्रीय मान्यता छ। यस वर्ष प्रतिपदाको दिनमै चन्द्रमा उदाउने अवस्था रहेकाले औँसी समाप्त भएपछि अघिल्लो दिन नै गाईपूजा गर्नुपर्ने निर्णय गरिएको हो,’ भट्टराईले स्पष्ट पारे।

उनका अनुसार यस वर्ष कात्तिक २४ गते मंगलबार प्रतिपदा दिउँसो १२ बजेर ४१ मिनेटसम्म मात्रै रहनेछ। त्यसपछि द्वितीया सुरु हुन्छ। सूर्य र चन्द्रमाबीचको कोणीय दूरी १२ डिग्री पुगेपछि एउटा तिथि समाप्त भई अर्को तिथि सुरु हुने भएकाले तिथिको परिवर्तनसँगै चन्द्रमा देखिने अवस्था पनि फरक पर्छ।

सामान्यतया अन्य वर्षका पञ्चाङ्गमा प्रतिपदाकै दिन गाईपूजा र गोरुपूजा उल्लेख हुने गरे पनि यस वर्षको विशेष ज्योतिषीय अवस्थाका कारण कात्तिक २३ गते गाईपूजा राखिएको उनले बताए। केही समुदायमा औँसीकै दिन गाईपूजा गर्ने परम्परा पनि रहेको उल्लेख गर्दै उनले आ–आफ्नो पारिवारिक तथा सामुदायिक परम्पराअनुसार पूजा गर्ने चलनलाई पनि स्वीकार गर्नुपर्ने बताए।

गाईलाई प्रिय वस्तु खुवाउने र गोक्रीडा गराउने चलन
गाईपूजाका दिन गाईलाई विधिपूर्वक पूजा गर्ने, टीका तथा माला लगाइदिने र मनपर्ने खानेकुरा खुवाउने परम्परा छ। त्यसैगरी गाईगोरुलाई खुला मैदानमा छाडेर खेल्न दिने चलनलाई गोक्रीडा भनिन्छ।

भट्टराईका अनुसार गोक्रीडा गाईपूजासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पक्ष हो। गाईगोरु खुला मैदानमा रमाएर खेलेको दृश्यले मन प्रसन्न हुने बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update