सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका कांग्रेसको सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
श्रेष्ठ नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा सक्रिय भएका हुन्। उनले २०७३ सालमा श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयको नेविसंघ इकाई सभापतिको जिम्मेवारी सम्हालेका थिए।
विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका श्रेष्ठ हाल चौतारा बहुमुखी क्याम्पसका उपसभापतिसमेत हुन्।
युवा उमेरमै नगर सभापतिको जिम्मेवारी पाएसँगै चौतारा कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश भएको छ। कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत देशभर स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिरहेका बेला श्रेष्ठको सर्वसम्मत चयनलाई युवा पुस्ताको नेतृत्व सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।
श्रेष्ठको चयनसँगै ‘युवाको प्रतिनिधित्व अब नारामा मात्रै होइन, नेतृत्वमै’ भन्ने सन्देश गएको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।

