सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ११ वटामा गाउँ–नगर अधिवेशन भएको छ। अधिकांश स्थानीय तहमा नेतृत्व सर्वसम्मत चयन भएको छ भने केही पालिकामा निर्वाचनमार्फत सभापति चयन गरिएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाको नगर सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा सक्रिय भएका श्रेष्ठले २०७३ सालमा श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयको नेविसंघ इकाई सभापतिको जिम्मेवारी सम्हालेका थिए। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका श्रेष्ठ हाल चौतारा बहुमुखी क्याम्पसका उपसभापतिसमेत हुन्।
युवा उमेरमै नगर सभापतिको जिम्मेवारी पाएसँगै चौतारा कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश भएको छ। कांग्रेसले देशभर स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिरहेका बेला श्रेष्ठको सर्वसम्मत चयनलाई युवा पुस्ताको नेतृत्व सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।
यसैगरी इन्द्रावती गाउँपालिकाको सभापतिमा क्षेत्रबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। तामाङ इन्द्रावती–४ का वडाध्यक्षसमेत हुन्। पाँचपोखरी थाङपाल गाउँपालिकाको सभापतिमा सूर्यबहादुर अधिकारी, लिसंखुपाखर गाउँपालिकाको सभापतिमा सुमन बोम्जन, बलेफी गाउँपालिकाको सभापतिमा रामकुमार तामाङ र सुनकोशी गाउँपालिकाको सभापतिमा कुमार शाही सर्वसम्मत निर्वाचित भएका छन्। शाही सुनकोशी–१ का वडाध्यक्षसमेत हुन्। त्यस्तै बाह्रबिसे नगरपालिकाको नगर सभापतिमा नवीनबहादुर श्रेष्ठसहितको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
मेलम्ची,हेलम्बु ,जुगल र त्रिपुरासुन्दरीमा मतदान मार्फत नेतृत्व चयन
निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएका स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाको सभापतिमा फुर्पा तामाङ दोङ निर्वाचित भएका छन्। दोङले १२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मिङमार छिरिङ शेर्पाले ५२ मत प्राप्त गरे। १७७ क्षेत्रीय प्रतिनिधि सहभागी निर्वाचनमा २ मत बदर भएको थियो।
जुगल गाउँपालिकाको सभापतिमा बमबहादुर श्रेष्ठ (सानो सगुन) निर्वाचित भएका छन्। उनले ९३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कुमार सिंह योञ्जनले ५० मत प्राप्त गरे। जम्मा १४६ मत खसेकोमा ३ मत बदर भएको थियो। जुगल नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाको गृह पालिका हो।
त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको सभापतिमा लालबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ८९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रमेश राउतले ७८ मत पाए। १७३ मत खसेको निर्वाचनमा ६ मत बदर भएको थियो। श्रेष्ठ ११ मतान्तरले विजयी भएका हुन्।
मेलम्ची नगरपालिका कांग्रेस सभापति मा अमृत खनाल २३६ मत ल्याएर विजयी हुदा उनका निकटम प्रतिद्वन्दी शङकर खतिवडा ले १५७ मत प्राप्त गरेका छन् । खनाल मेलम्ची -१० का वडाध्यक्ष समेत हुन् । खनाल मेलम्ची -१० को वडाध्यक्ष समेत हुन् ।
यसरी सिन्धुपाल्चोकका ११ स्थानीय तहमा सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशन भएको छ। भोटेकोशी गाउँपालिकामा भने सहमति बन्न नस्कदा निर्वाचन हुन सकेको छैन ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ र त्यसअन्तर्गत स्थानीय तहदेखि केन्द्रीय तहसम्म अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोकमा अहिले देखिएको तस्वीरलाई केवल ‘युवाको आगमन’ भनेर व्याख्या गर्नु अधुरो हुन सक्छ। युवा अनुहार नेतृत्वमा आएका छन्, केही ठाउँमा सर्वसम्मति भएको छ र केही ठाउँमा खुला प्रतिस्पर्धाबाट नेतृत्व छानिएको छ। अब महत्वपूर्ण कुरा भनेको यी नयाँ नेतृत्वले पुरानो संगठनात्मक शैलीलाई निरन्तरता दिन्छन् कि सदस्यता, प्रतिनिधित्व, निर्णय प्रक्रिया र कार्यकर्ताको भूमिकामा पनि परिवर्तन ल्याउँछन् भन्ने हो।
अन्ततः अधिवेशनको सफलता कति जना सर्वसम्मत भए वा कति युवा सभापति बने भन्ने संख्याले मात्र होइन, निर्वाचित नेतृत्वले पराजित पक्षलाई कसरी समेट्छ, कार्यकर्ताको आवाजलाई कति स्थान दिन्छ र आगामी दिनमा संगठनलाई कति सक्रिय बनाउँछ भन्ने कुराले निर्धारण गर्नेछ। ‘युवा नेतृत्व’ अब नाराबाट वास्तविक परीक्षामा प्रवेश गरेको छ।

