Harsamaya
तीनकुनेमा खुल्यो कांग्रेस संस्थापनइतर सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतले तीनकुनेस्थित सम्पर्क कार्यालयको उद्घाटन गर्दै ।

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक संस्थापनइतर समूहले काठमाडौँको तीनकुनेमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतले तीनकुनेस्थित सम्पर्क कार्यालयको आज उद्घाटन गरेका हुन्। सिन्धुपाल्चोक संस्थापनइतर समूहका जिल्ला संयोजक लालकाजी तामाङका अनुसार अब यही कार्यालयबाट जिल्लाको १५औँ महाधिवेशनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ।

तामाङका अनुसार कार्यालयबाट अधिवेशनको तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा वडा तहदेखि महाधिवेशनसम्मका संगठनात्मक गतिविधि अघि बढाइनेछ।

संस्थापनइतर समूहले आफ्नो छुट्टै कार्यतालिकाअनुसार असोज १६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। वडा अधिवेशनसँगै जिल्लामा महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रक्रिया अघि बढाउने समूहको तयारी छ।

सिन्धुपाल्चोकमा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर यसअघि नै विभिन्न समूहले आ–आफ्नो गतिविधि अघि बढाइरहेका छन्। संस्थापनइतर समूहले भने तीनकुनेमा सम्पर्क कार्यालय स्थापना गरेर जिल्लाबाहिर रहेका नेता तथा कार्यकर्तासँग समेत समन्वय गर्दै अधिवेशन केन्द्रित गतिविधि सञ्चालन गर्ने तयारी गरेको हो।

यससँगै सिन्धुपाल्चोक कांग्रेसको महाधिवेशन गतिविधि अब जिल्लामा मात्र नभई काठमाडौँबाट समेत संगठित रूपमा सञ्चालन हुने भएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update