सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको मिति र निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै अधिवेशनको माहोल तातेको छ। क्षेत्रीय कार्यसमितिले परिपत्र जारी गरेसँगै विभिन्न पदका आकांक्षीहरूले सामाजिक सञ्जालमार्फत धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्।
क्षेत्रीय कार्यसमितिका अनुसार असोज १० गते बिहान ९ बजे मेलम्ची बिजनेस हबमा क्षेत्रीय अधिवेशनको उद्घाटन हुनेछ। उद्घाटनपछि सोही दिन उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पूरा गरिनेछ भने असोज ११ गते बिहान ७ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
परिपत्र सार्वजनिक भएसँगै क्षेत्रीय सभापति, सचिव तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। आकांक्षीहरूले फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै समर्थन र सहयोगका लागि अपिल गरिरहेका छन्।
क्षेत्रीय सभापति पदका लागि पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ‘समीर’ले उम्मेदवारी घोषणा गरेका छन्। उनको समूहबाट सचिव पदमा मेलम्ची नगरपालिका–११ का निवर्तमान वडा सभापति कुमार दुलालले उम्मेदवारी घोषणा गरेका छन्।
तामाङलाई मेलम्ची नगरपालिकाका प्रमुख तथा वर्तमान क्षेत्रीय सभापति आइतमान तामाङलगायत नेताहरूको समर्थन रहेको बताइएको छ। त्यस्तै सचिब कै लागि बिजय तामाङले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
यसैबीच, क्षेत्रीय अधिवेशनमा सबैभन्दा बढी चासो देखिएको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। खुलातर्फ सागरकुमार श्रेष्ठ र सञ्जय लामाले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सदस्य रूपक धिताल, उद्धव बानियाँ, राजेशरत्न दनुवार, दुर्गाबहादुर तामाङ, सीके चौलागाईं, श्यामबहादुर गिरी, रमिला शर्मा पौडेल र ईश्वरी न्यौपाने, पुर्नी तामाङ ,शान्ता अर्याल र प्रविन सिलवालले विभिन्न क्लस्टरअन्तर्गत निर्वाचित हुने महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
क्षेत्र नं. २ बाट ३२ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने भएकाले उक्त पदमा आकांक्षीहरूको संख्या अझ बढ्ने देखिएको छ। अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच भेटघाट, छलफल तथा समर्थन जुटाउने गतिविधि पनि बढेको छ।
सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्ने क्रमले क्षेत्र नं. २ को कांग्रेस राजनीतिमा अधिवेशनको सरगर्मी थप बढाएको छ।

