सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदका लागि भूपेन्द्र थापाले उम्मेदवारी घोषणा गरेका छन्। थापाले गुट र उपगुटभन्दा माथि उठेको, विधि र पद्धतिमा चल्ने तथा सबै कांग्रेसजनलाई समेट्ने कांग्रेस निर्माण गर्ने संकल्पसहित उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अघि सारेको पार्टी रूपान्तरण र सुदृढीकरणको संकल्पलाई आत्मसात गर्दै थापाले संगठनलाई थप व्यवस्थित, बलियो र जनतामाझ भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै थापाले कांग्रेसभित्र देखिँदै आएको गुटबन्दी र उपगुटको प्रवृत्तिको अन्त्य गर्दै व्यक्ति केन्द्रित राजनीतिभन्दा संस्था, नीति, विधि र पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनले रचनात्मक तथा सिर्जनात्मक सोचका साथ संगठनलाई अघि बढाउँदै पार्टी नेतृत्वले निर्माण गरेका नीति, निर्णय तथा विधि–पद्धतिको प्रभावकारी कार्यान्वयनमा आफू दृढ रहने बताएका छन्।
क्षेत्रीय अधिवेशनलाई सभ्य, भव्य, मर्यादित र एकताको सन्देश दिने गरी सफल बनाउन आफू सबै पक्षलाई सम्मान गर्दै अघि बढ्ने थापाको भनाइ छ। उनले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै सबै कांग्रेसजनको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।
गुटबन्दीको अन्त्य र संगठनमा एकताको वातावरण निर्माणका लागि सम्भव भए आफ्नो टिमलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्न तथा अन्यथा स्वतन्त्र र निर्भीक मतदानमार्फत अत्यधिक मतका साथ विजयी गराउन थापाले कांग्रेसजनसमक्ष आग्रह गरेका छन्।
थापा सैनिक सेवाबाट अवकाश लिएपछि राजनीति र समाजसेवामा सक्रिय भएका हुन्। उनी नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ का कोषाध्यक्षसमेत हुन्।
थापाले आफू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको स्पष्ट गर्दै उम्मेदवारी फिर्ता नलिने घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारी कुनै गुट वा समूहको प्रतिनिधित्व नभई संगठनभित्र विधि, पद्धति र संस्थागत अभ्यासलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढाइएको बताएका छन्।
थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिवादभन्दा संस्थागत प्रणालीलाई प्राथमिकता दिने, संगठनलाई नयाँ ढंगले अघि बढाउने तथा कांग्रेसलाई थप जनमुखी र भरोसायोग्य बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

