सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘क’को सभापति पदमा भगवान खड्काले उम्मेदवारी घोषणा गरेका छन्।
सानै उमेरदेखि विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा जोडिएका खड्काले आफूलाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेका छन्। उनको राजनीतिक यात्रामा नेविसंघको जिल्ला सदस्यदेखि नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिको सचिवको जिम्मेवारीसम्मको अनुभव रहेको छ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय खड्का लायन्स क्लबमा आबद्ध भएर सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन्। उनी समाजसेवामार्फत पनि समुदायसँग जोडिँदै आएका छन्। सार्वजनिक सेवाका विभिन्न गतिविधिमा उनको सहभागिता रहँदै आएको देखिन्छ।
खड्काले आफूलाई स्वतन्त्र साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै पार्टीभित्र एकता, संगठनमा गतिशीलता र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेका छन्।
उनको उम्मेदवारी केवल एउटा पदको आकांक्षा नभई लामो समयदेखि संगठन र समाजसँग जोडिँदै आएको यात्राको अर्को पाइलाका रूपमा प्रस्तुत गरिएको छ। सानै उमेरमा विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा अहिले पार्टी संगठनको नेतृत्वमा दाबी गर्ने ठाउँसम्म आइपुगेको उनको भनाइ छ।
‘एकताबद्ध पार्टी, गतिशील र सुदृढ संगठन आजको आवश्यकता’ भन्ने मान्यतालाई अघि सारेका खड्काले कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनले ‘नयाँ पुस्ता, नयाँ ऊर्जा–कांग्रेसको नयाँ यात्रा’ भन्ने नारालाई अघि सारेका छन् ।
राजनीतिक यात्राका आरोह–अवरोहसँगै समाजसँग जोडिँदै आएका खड्काका लागि यो उम्मेदवारी एउटा पदको प्रतिस्पर्धाभन्दा पनि आफूले वर्षौँदेखि बोकेको राजनीतिक विश्वास र संगठनप्रतिको प्रतिबद्धतालाई अझ फराकिलो बनाउने प्रयासका रूपमा चित्रित गरिएको छ। विद्यार्थी राजनीतिमा टेकिएको त्यो सुरुवाती पाइला अहिले पार्टी संगठनको नेतृत्वमा पुग्ने आकांक्षामा परिणत भएको छ।
सानो उमेरमा रोपिएको राजनीतिको बीउ, संगठनमा बिताएका वर्ष र समाजसेवाबाट जोडिएको सम्बन्धलाई आधार बनाएर खड्का अब क्षेत्रीय नेतृत्वका लागि मत मागिरहेका छन्।

