सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘क’ को सभापति पदमा देवप्रसाद बानियाँले उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै साझा भावना, सहकार्य, एकता र सबैको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बानियाँले बताएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई एकता, सम्मान र सुदृढ संगठन निर्माणप्रतिको प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्। पार्टीका अग्रज तथा आदरणीय व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै बानियाँले अग्रज, साथी–सहकर्मी तथा शुभेच्छुकहरूबाट साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेका छन्।
साविक कुन्चोक गाविसमा जन्मिएका बानियाँले आफू सानै उमेरदेखि प्रजातन्त्रको आन्दोलनमा सहभागी भएको स्मरण गरेका छन्। उनका अनुसार २०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा १५ वर्षको उमेरमै जेल जीवन भोगेका थिए।
प्रजातन्त्रका लागि आन्दोलनमा सहभागी हुँदा भोगेको जेल जीवन र राज्यबाट पाएको पीडा अझै पनि मानसपटलमा ताजै रहेको उनले बताएका छन्। बानियाँ यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेशसभा ‘क’ को सभापति पदमा केशवराज गिरीसँग पराजित भएका थिए। उक्त निर्वाचनमा आफू झिनो मतान्तरले उपविजेता बनेको उल्लेख गर्दै उनले यसपटक पुनः प्रदेश ‘क’ सभापतिमा उम्मेदवारी दिएका हुन्।
बानियाँ इन्द्रावती गाउँपालिका–३ का पूर्ववडाध्यक्षसमेत हुन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले प्रदेश ‘क’ को संगठनलाई एकताबद्ध, सुदृढ र सबैको प्रतिनिधित्व हुने गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

