काठमाडौं - काठमाडौँमा यतिबेला ‘महाभारत’ नाटकले दर्शकको ध्यान तानेको छ । वनमा जन्मिएका कारण अस्वीकृत हुन बाध्य एकलव्यको संघर्षलाई नाटकले आजको समाजसँग जोड्दै प्रस्तुत गरेको छ । दर्शकलाई केवल कथा सुनाउने होइन, समाजका स्थापित संरचना र अन्यायप्रति प्रश्न उठाउन प्रेरित गर्ने प्रयास नाटकमा देख्न सकिन्छ ।
महाभारतका अनुसार एकलव्य वनवासी राजकुमार थिए । उनले धनुर्विद्या सिक्न द्रोणाचार्योमा गए । द्रोणाचार्यले उनलाई शिष्यका रूपमा स्वीकार गरेनन् । त्यसपछि एकलव्यले द्रोणाचार्यको माटोको मूर्ति बनाएर मनैमन गुरु माने र आफैं अभ्यास गर्दै अत्यन्त कुशल धनुर्धर बने ।
जब द्रोणाचार्यले एकलव्यलाई भेटे, उनले आफूलाई द्रोणाचार्यकै शिष्य भएको बताए । त्यसपछि द्रोणाचार्यले गुरु दक्षिणाका रूपमा एकलव्यसँग उनको दाहिने हातको बूढी औंला (अंगूठा) मागे । गुरुको आदेश मानेर एकलव्यले कुनै हिच्किचाहट बिना आफ्नै औंला काटेर दान दिए । यसै कथामा आधारित भएर काठमाडौंको कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ ‘महाभारत’।
महाभारतको परिचित पात्र एकलव्यको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो नाटक केवल पौराणिक पुर्नकथन नभई वर्तमान सत्ता, विभेद र अवसरमाथिको गहिरो विमर्श रहेको नाटक निर्देशक नवीन भट्टराईको दावी छ । परापूर्वकालको एकलव्यको संघर्षलाई नाटकले आजको समाजसँग जोड्दै प्रस्तुत गरेको उनको कथन छ । एकलव्यलाई दयाको पात्रको रुपमा होइन अस्तित्व अस्वीकृत भएर पनि आफ्नो अस्तित्व निर्माण गर्ने चेतनाको रुपमा देखाएको छु, उनले भने ।
नाटकका प्रमुख पात्र तथा चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेलले रंगकर्म आफूले निरन्तर गरिरहेको भए पनि नाटक भने कलाकारका लागि ‘गुरु विधा’ रहेको बताएका छन् । नाटकमा अभिनय गर्दाको अनुभव सुनाउँदै गजुरेलले आफू स्ट्यान्डअप कमेडी र विभिन्न प्रोडक्सनमा सक्रिय रहे पनि थिएटर नाटक फरक विधा भएको बताए ।
‘रंगकर्म त मैले गरिरहेकै छु । स्ट्यान्डअप कमेडी र विभिन्न प्रोडक्सनमा काम गरिरहेको छु । तर नाटक अलि फरक विधा हो । सबै कला विधामध्ये यो गुरु विधा हो,’ उनले भने, ‘गुरु नै नथापी अघि बढेजस्तो महसुस भएको थियो । त्यसैले यो गुरु थाप्न नाटकमा आएको हुँ । यसले मेरो कलालाई अझ निखार्न सहयोग गरिरहेको छ ।’
थिएटर नाटकमा यो आफ्नो पहिलो अनुभव भएको बताउँदै उनले अब नियमित रूपमा रंगमञ्चमा देखिन सक्ने बताए । ‘म शोमा फर्किएको होइन, यस्तो थिएटरमा नाटक गरेको पहिलोपटक हो । फर्किएको भन्न मिल्दैन । अब चाहिँ नियमित आउन सक्छु,’ उनले भने ।
दर्शकलाई नाटक हेर्न आग्रह गर्दै गजुरेलले रंगमञ्चको अनुभव मनोरञ्जनभन्दा माथिको अनुभूति भएको बताए ।
‘दर्शकका रूपमा नाटक हेरेको थिएँ, कलाकारका रूपमा गरेको यो पहिलो हो । यो केवल मनोरञ्जन मात्र होइन रहेछ,’ उनले भने, ‘हलभित्रको प्रकाश, आवाज, कुनै मिक्सिङबिना कलाकारको स्वर दर्शकसम्म पुग्ने प्रक्रिया अद्भुत छ । मलाई त यो साधना केन्द्र वा मन्दिरजस्तै लाग्छ । यहाँ आउँदा एक प्रकारको आध्यात्मिक आनन्द महसुस हुन्छ ।’
नाटक हेर्न आएका हास्य अभिनेता जितु नेपालले ‘एकलब्य’ नाटक हेरेपछि रंगमञ्चप्रति आफ्नो सम्मान अझ बढेको बताएका छन् । उनले आफू कलाकार बन्न प्रेरित गर्ने व्यक्तित्वहरूलाई एउटै मञ्चमा देख्न पाउनु जीवनकै विशेष क्षण भएको बताए ।
‘रमेश बुढाथोकीलाई टेलिभिजनमा हेरेर मैले कलाकार बन्ने अठोट गरेको थिएँ । मनोज मामाको स्ट्यान्डअप कमेडी हेरेर रंगमञ्चमा कमेडी गर्न थालेको हुँ,’ उनले भने, ‘आज यी दुवै व्यक्तिलाई एउटै रंगमञ्चमा नाटक गरिरहेको देख्नु मेरो लागि ठूलो सौभाग्य हो ।’
रमेश बुढाथोकीसँग चलचित्रमा काम गर्ने अवसर पाए पनि रंगमञ्चमा उनको अभिनय पहिलो पटक हेरेको उनले बताए । ‘आदरणीय रमेश दाइसँग ‘ज्वाइँ साब’ मा काम गर्ने अवसर पाएको थिएँ । तर उहाँको नाटक हेर्ने अवसर पाएको थिइनँ। आज हेर्दा जिउ नै सिरिङ्ग भयो,’ उनले भने ।
नाटकका पात्र र प्रस्तुतीकरणले आफूलाई महाभारतकै संसारमा पुर्याएको उनको अनुभव छ । ‘सुवर्ण दाइदेखि एकलब्य र अर्जुनको भूमिकासम्म सबैले यति जीवन्त अभिनय गर्नुभयो कि साँच्चै महाभारत हेरेजस्तो अनुभूति भयो,’ उनले भने, ‘एकलब्य पात्रबारे महाभारत पढ्दा र हेर्दा सधैं कौतुहल लाग्थ्यो । यो नाटकले त्यस पात्रलाई अझ गहिराइबाट बुझ्ने अवसर दियो ।’
नाटकको कथावस्तु र प्रस्तुतिले दर्शकलाई सोच्न बाध्य बनाउने उनले बताए । ‘बीचमा रमाइलो पनि भयो, कतिपय दृश्यले सोच्न बाध्य पनि बनायो। नाटकले मनोरञ्जनसँगै गम्भीर प्रश्नहरू पनि उठाउँछ,’ उनले भने ।
पछिल्लो समय रंगमञ्चप्रति दर्शकको आकर्षण बढ्दै गएको र चलचित्रकर्मीहरू पनि नाटकतर्फ फर्कन थालेको उनले उल्लेख गरे । ‘एक समय सेलाउँदै गएको जस्तो देखिएको नाटक अहिले फेरि ब्युँतिएको छ । नाटकघरहरू भरिन थालेका छन्,’ उनले भने, ‘चलचित्रका कलाकारहरू पनि नाटकमा सक्रिय हुन थालेका छन् । मलाई पनि नाटक गरौं–गरौं जस्तो लागिरहेको छ । समय मिल्यो भने म पनि एकपटक रंगमञ्चमा फर्किनेछु ।’
एकलव्य हेर्न थिएटर पुगेका गायक कारण परियारले नाटकप्रतिको आफ्नो आकर्षण पुरानै भए पनि रंगमञ्चको वास्तविक अनुभवले आफूलाई गहिरो रूपमा प्रभावित गरेको बताएका छन् ।
नाटक हेरेपछि आफ्नो अनुभव सुनाउँदै उनले संगीतकर्मीसँगै नाटकप्रति पनि विशेष रुचि रहेको बताए ।
‘गीत गाउने मान्छेलाई पनि नाटक मन पर्छ नै । पहिलो पटक म यहाँ नाटक हेर्न आएको थिएँ र त्यहीँबाट यसको दिवाना बनेँ,’ उनले भने, ‘यहाँ सबै कुरा वास्तविक देखिन्छ - संगीत, अभिनय, पात्रहरूको प्रवेश, सेटको परिवर्तन । यी सबै पक्षले मलाई निकै आकर्षित गरेका छन् ।’
परियारले आफू विशेष रूपमा महाभारतका कथाहरूको प्रशंसक रहेको र त्यसैले ‘एकलब्य’को कथा झन् नजिकबाट अनुभूति गर्न पाएको बताए ।
‘म महाभारतको ठूलो फ्यान हुँ । पुराना कथा र पात्रहरू मलाई सधैं मन पर्छन् । आज एकलब्यको कथा हेर्न पाउँदा धेरै कुरा बुझ्न पाएँ, जुन पहिले राम्रोसँग बुझेको थिइनँ,’ उनले भने ।
‘यो नाटकले मलाई निकै मोटिभेट गर्यो । मानिसले गर्न सक्छ, केवल सोच र साधना चाहिन्छ भन्ने सन्देश मैले आत्मसात् गरेको छु । मलाई नाटक एकदमै मन पर्यो,’ उनले भने ।
चर्चित चलचित्र निर्देशक मुस्कान ढकालले ‘एकलब्य’ नाटकले आफूलाई भावुक बनाएको भन्दै रंगमञ्चको शक्ति र कलाकारहरूको समर्पणप्रति प्रशंसा व्यक्त गरेका छन् । नाटक हेरेपछिको अनुभव सुनाउँदै ढकालले आफू नियमित रूपमा नाटक हेर्न नआए पनि अवसर मिल्दा रंगमञ्चमा आउने गरेको बताए ।
‘म धेरै नाटक हेर्न आइरहने मान्छे होइन, तर कहिलेकाहीँ नाटक हेर्न आउँछु । आजको नाटक हेर्दा भने मलाई एकलब्य पात्रले निकै भावुक बनायो,’ उनले भने, ‘महाभारत हेर्दा पनि मलाई सधैं एकलब्यको माया लाग्छ । आज यो नाटक हेर्दा पनि त्यही अनुभूति भयो । साँच्चै नाटक सुन्दर र उत्कृष्ट थियो ।’
पछिल्लो समय चलचित्रका कलाकार र प्राविधिकहरू रंगमञ्चमा फर्किनु तथा रंगकर्मीहरू चलचित्रतर्फ आकर्षित हुनु सकारात्मक विषय भएको उनको धारणा छ ।
‘मलाई लाग्छ, रंगमञ्चमा काम गर्ने कलाकारहरू अभिनयका साँचिकै धुरन्धर हुन्छन्,’ उनले भने, ‘आज रमेश बुढाथोकी दाइलाई रंगमञ्चमा प्रत्यक्ष देख्न पाउँदा म आफैँलाई सौभाग्यशाली ठानेँ । सिनेमामा देखेका कलाकारलाई मञ्चमा हेर्नुको अनुभव फरक हुन्छ ।’
मनोज गजुरेलजस्ता स्थापित कलाकारको रंगमञ्चमा उपस्थिति अहिलेको पुस्ताका लागि प्रेरणादायी रहेको ढकालको भनाइ छ ।
‘मनोज गजुरेल दाइलाई पनि यसरी रंगमञ्चमा देख्ने अवसर पाएको थिइनँ । आफ्नो क्षेत्रमा यति सफल र लोकप्रिय कलाकारहरू नाटकमा आएर काम गर्नु आफैंमा ठूलो सन्देश हो,’ उनले भने, ‘यसले युवा पुस्तालाई सिनेमा मात्र सबैथोक होइन, नाटक पनि उत्तिकै महत्वपूर्ण र विशेष कला माध्यम हो भन्ने सन्देश दिन्छ ।’
ढकालका अनुसार रंगमञ्च र चलचित्र एकअर्काका प्रतिस्पर्धी नभई पूरक माध्यम हुन्, जसले कलाकारलाई अझ परिपक्व र सक्षम बनाउने काम गर्छन् ।
पत्रकार तथा दर्शक सुजन श्रेष्ठले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको ‘एकलब्य’ नाटकले आफूलाई गहिरो रूपमा छोएको बताएका छन् । उनले नाटक हेर्दा भावनात्मक रूपमा पात्रहरूसँग जोडिएको अनुभव सुनाएका छन् ।
‘आज यो नाटक हेर्दा मेरो अनुभूति निकै फरक रह्यो । सबैभन्दा बढी म यसको कथासँग जोडिएँ,’ श्रेष्ठले भने, ‘सायद अगाडिको पंक्तिमा बसेर हेरेको कारण पनि हुन सक्छ, तर म पात्रहरूसँग असाध्यै नजिक महसुस गरिरहेको थिएँ । अर्जुन, एकलब्य, द्रोणाचार्य, व्यास—सबै पात्रहरूले मलाई गहिरोसँग छोए ।’
नाटकले आफूलाई भावनात्मक रूपमा पूर्ण रूपमा तानेको उनको भनाइ छ । ‘म अर्कै दुनियाँमा पुगेजस्तो भएँ। कहिले रोएँ, कहिले हाँसेँ । कथामा उतारचढाव छ, ट्विस्टहरू छन् र दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने क्षमता छ,’ उनले भने ।
आफूले हालसम्म १५० देखि २०० वटा नाटक हेरेको उल्लेख गर्दै श्रेष्ठले ‘एकलब्य’लाई उत्कृष्टमध्ये एक नाटकका रूपमा मूल्यांकन गरे ।
‘मैले धेरै नाटकहरू हेरेको छु, तीमध्ये धेरै राम्रो पनि थिए। तर ‘एकलब्य’ मेरो लागि उत्कृष्ट नाटकहरूमध्ये एक बन्यो,’ उनले भने, ‘यति धेरै नाटक हेर्दा पनि म यसरी खुलेर रोएको र दिल खोलेर हाँसेको दोस्रो वा तेस्रो पटक मात्र होला ।’
दर्शकलाई नाटक नछुटाउन आग्रह गर्दै उनले यो प्रस्तुति छुटाउनु पछुतोको विषय बन्न सक्ने बताए । ‘सबैलाई यो नाटक हेर्न आग्रह गर्छु । किनभने पछि “यस्तो उत्कृष्ट नाटक छुट्यो” भनेर पछुताउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यो अनुभव आफैंले लिएर महसुस गर्नुपर्ने खालको छ ।’
निर्देशक नवीन भट्टको परिकल्पनामा तयार भएको यस नाटकमा सन्दीप श्रेष्ठले एकलव्य, रमेश बुढाथोकीले द्रोणाचार्य, सुवर्ण थापाले वेदव्यास तथा मनोज गजुरेलले गणेशको भूमिका निर्वाह गरेका छन् । प्रकाश दाहालको अनुवाद, तुफान थापाको सेट डिजाइन, दीपेश गजुरेलको लाइट डिजाइन, अनुप तिमिल्सिनाको सङ्गीत संयोजन तथा गायन, अनिष क्षेत्रीको कोरियोग्राफी र रमेश पुरीको निर्माण रहेको ‘महाभारत’ले नेपाली रंगमञ्चमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
प्रभावशाली अभिनय, सशक्त संवाद र प्रतीकात्मक प्रस्तुतीकरणले नाटकलाई थप जीवन्त बनाएको छ । ‘एकलव्य’ केवल एक पात्रको कथा होइन, हरेक युगमा अवसरबाट वञ्चित पारिएका आवाजहरूको प्रतिनिधित्व गर्ने कथा हो, जसले दर्शकलाई नाटक सकिएपछि पनि लामो समयसम्म सोच्न बाध्य बनाउँछ ।
कान्तिपुर थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ जस्ता चर्चित नाटक मञ्चन गरिसकेको छ । ‘महाभारत’पछि थिएटरले सुविन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ । असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५ः१५ बजे मञ्चन हुने नाटक सार्वजनिक बिदाका दिन दिउँसो १ः१५ बजे अतिरिक्त शोसहित प्रस्तुत गरिनेछ। ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउनेछन् ।
तस्वीरहरु :-

