Harsamaya
तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ।

काठमाडौं - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्। 

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफ्ना आगामी योजना, कार्यशैली र मन्त्रालयको प्राथमिकताका बारेमा स्पष्ट पारेका छन्।

मन्त्री पुनले आफू कुनै पनि पार्टीको मान्छे नभएको र मन्त्रालयमा रहेर राजनीतिक पूर्वाग्रह नराख्ने प्रष्ट पारे। 

‘म राजनीति गर्ने मान्छे होइन, मन्त्री भएर पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण देखाउन चाहन्छु,’ उनले भने।

पाको उमेरका व्यक्तिहरूले देश हाँक्छु भन्दा देश बिग्रिएको भन्दै उनले आफ्नो उमेर बढी भए पनि सोच र दिमाग कलिलै रहेको दाबी गरे। उनले आफूले सधैं २५–३० वर्षका युवाहरूसँग मात्र काम गर्दै आएको र ४० नाघेकाहरूसँग आफ्नो कुरै नमिल्ने रोचक प्रसंग सुनाए।

आफू मन्त्री हुनकै लागि यो मन्त्रालयमा नआएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्रीलाई विज्ञान र प्रविधिको महत्व बुझेको जोश–जाँगर भएको युवा मन्त्री खोज्न सुझाव दिएको, तर त्यस्तो व्यक्ति नपाएपछि आफैं ‘पासोमा परेको’ उनले टिप्पणी गरे। काम गर्दै जाँदा बिग्रिन सक्ने तर त्यसबाट पाठ सिकेर अगाडि बढ्ने भन्दै उनले युवाहरूलाई नडराई नवप्रवर्तनको काममा लाग्न आग्रह गरे।

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका सन्दर्भमा मन्त्री पुनले विज्ञान मन्त्रालयबाट त्यहाँ बजेट छुट्याउन नमिल्ने बताए। कारखाना चलाउनका लागि आफूले लेखेको किताब बेच्न नछोड्ने उनको अठोट छ। 

‘मन्त्री भइसकेपछि हिजोअस्ति जस्तो बाटोमा बसेर बेच्न नपाइएला, तर कुनै उपाय निकालेर किताब नबेची सुखै छैन,’ उनले भने।

भविष्यमा उद्योग मन्त्रालयले उक्त कारखानाको जिम्मा लिएमा मात्र आफू सो जिम्मेवारीबाट पछि हट्ने उनले प्रष्ट पारे।

स्वार्थ बाझिने भन्दै मन्त्री पुनले आफूले स्थापना गरेको ‘राष्ट्रिय आविष्कार केन्द्र’लाई मन्त्रालयबाट बजेट नछुट्याउने स्पष्ट पारेका छन्। मन्त्री हुनु दुई दिनअघि नै आफूले केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिइसकेको र हाल डा. डम्बर नेपाली अध्यक्ष रहेको उनले जानकारी दिए। यद्यपि, देशभरका युवाहरूले ढुक्क भएर अनुसन्धान गर्न सक्ने गरी २ देखि ४ वटा नयाँ नवप्रवर्तन केन्द्रहरू बिस्तारै खोल्ने उनको योजना छ।

आगामी ५ देखि १० वर्षभित्र नेपाललाई आवश्यक पर्ने साना सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउनु मन्त्रालयको मुख्य लक्ष्य हुने उनले बताए। नवप्रवर्तन र अनुसन्धानलाई ‘बच्चा हुर्काए जस्तै’ मन्त्रालयले हुर्काउने र सफल भएपछि उद्यमशील बनाउन उद्योग मन्त्रालयसँग समन्वय गर्ने उनको भनाइ छ।

सरकारले छुट्याएको पुँजीगत खर्चको १ प्रतिशत बजेटमध्ये प्रशासनतर्फ एकदमै कम र अनुसन्धान तथा नवप्रवर्तनमा अधिकतम खर्च गर्ने नीति लिने बताउँदै उनले स्वदेश र विदेशमा रहेका प्रतिभाहरूलाई नयाँ ‘आइडिया’ लिएर आउन आह्वान गरेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  २०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update