काठमाडौं - नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनका लागि काठमाडौंका तीन प्रमुख स्थान बुक गरेको छ । महाधिवेशनको उद्घाटनदेखि मतदान र प्रतिनिधिको खानपानसम्मको व्यवस्थापनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा तय गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिको नाममा तीनवटै स्थान बुक भइसकेका छन् ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनको उद्घाटन र समापन कार्यक्रम खुलामञ्चमा गरिनेछ । मतदानका लागि राष्ट्रियसभा गृह र प्रतिनिधिहरूको खानपानका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गरिने कार्कीले जानकारी दिएका छन् ।
देउवा समूहले महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । त्यसैगरी, महाधिवेशनअघि जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारीअनुसार कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने जनाएको छ ।
महाधिवेशनका लागि स्थान र व्यवस्थापनको टुंगो लगाउँदै देउवा समूहले संगठनात्मक गतिविधिलाई पनि अघि बढाएको छ ।

