Harsamaya
मुगुको सोरुमा बोलेरो जिप दुर्घटना, पाँच जना घाइते
मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटना ।

मुगु - मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो । 

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ः५० बजे सोरुकोटबाट तारापानी तर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा जिपमा सवार १२ जना मध्ये पाँचजना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक मुगुको खत्याड गाउँपालिका–७ निवासी २९ वर्षीय उपेन्द्र परियार रहेका छन् । उनको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ ।

त्यस्तै, सोरु गाउँपालिका–९ कालै निवासी १९ वर्षीय गणेश ऐडीको टाउको र निधारमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी १६ वर्षीया निर्मला ऐडीको कुम र छातीमा चोट लागेको छ भने १७ वर्षीया करिस्मा ऐडीको कम्मर र छातीमा चोट लागेको छ ।

त्यसैगरी, १९ वर्षीय अन्तिम योगीको टाउको र बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कायालय मुयुका डिएसपी रबिराज थपलियाले जानकारी गराएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोली दिउँसो १ः३५ बजे घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । 

घाइते पाँचै जनालाई उपचारका लागि सिप स्थित जिमा स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र उनले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

दुर्घटना पछि सडक अवरुद्ध नभएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी सोरुबर्माले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update