बर्दिया - बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापा रहेका छन्। दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय दिक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक २३ गते बिहान करिब ७ः२५ बजे भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। मोटरसाइकलमा चालक श्रेष्ठ र पछाडि सवार थापा रहेका थिए।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज पठाइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई भारतको लखनउ लगिएको थियो।
उपचारकै क्रममा कात्तिक २४ गते बिहान करिब ७ बजे चिकित्सकले रिदम थापालाई मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक दिक्षित श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

