Harsamaya
आज गोरु र कृषि औजारको पूजा गरी गोवर्द्धन पर्व मनाइँदै
एक हल गोरु ।

काठमाडौं - यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजासँगै गोरु र कृषि औजारको पूजा गरिँदैछ । विशेषगरी कृषिमा प्रयोग हुने गोरु तथा विभिन्न औजारको पूजा गरी किसानले यो पर्व मनाउने गर्छन् ।

परम्पराअनुसार आज हलो, जुवा, फाली, गोठ, पराल राख्ने नादी तथा घाँस काट्ने कचियालगायत कृषि कार्यमा प्रयोग हुने सामग्रीको पूजा गरिन्छ ।

परम्परागत नेपाली समाजमा गोरु कृषि कार्यका साथै यातायातको प्रमुख साधनका रूपमा समेत प्रयोग हुँदै आएका थिए । खेत जोत्नेदेखि गोरुगाडा तानेर सामान ओसारपसार गर्नेसम्मका काममा गोरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

यस दिन गोरु तथा बहरलाई विशेष परिकार खुवाउने चलन पनि छ। पिठो, नुन, चोकर र पानी मिसाएर बनाइएको घोल तथा चामलको पिठो र तरकारी मिसाएर तयार पारिएको बावर खुवाउने परम्परा रहेको छ ।

कृषि कार्यमा सहयोग पुर्‍याउने गोरु र औजारप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो पूजा गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update