काठमाडौं - आज तिहारको अन्तिम दिन । भाइ तिहार । आज दिदीबहिनीले दाजूभाइलाई सप्तरंगी टिका फूलमाला लगाएर पूजा गर्ने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, पारस्परिक सम्मान, सद्भाव र उन्नति–प्रगतिको कामना प्रकट गर्ने धार्मिक तथा सांस्कृतिक पर्व भएको बताएका छन्। उनले भाइटीकाको धार्मिक विधि, दिदीबहिनी वा दाजुभाइको घरमा टीका लगाउने परम्परा, सप्तरङ्गी र पञ्चरङ्गी टीका तथा मखमली र सयपत्री फूलको सांस्कृतिक महत्त्वलाई परम्पराको मर्मअनुसार बुझ्नुपर्नेमा जोड दिएका छन्।
भाइटीकाको पौराणिक प्रसङ्गबारे व्याख्या गर्दै डा. भट्टराईले यमुनाले आफ्ना दाजु यमराजलाई कार्तिक शुक्ल द्वितीयाका दिन आमन्त्रण गरी पूजा तथा सत्कार गरेको कथा पुराणहरूमा उल्लेख रहेको बताए। यमराज र यमुना दाजुबहिनी भए पनि आ–आफ्नो कर्मक्षेत्रमा व्यस्त रहने भएकाले आत्मीयता र सद्भाव व्यक्त गर्ने अवसर नपाएको प्रसङ्गसँग भाइटीकाको परम्परा जोडिएको उनको भनाइ छ।
‘यमुनाले यमराजलाई आमन्त्रण गरेर पूजा गरी सत्कार गरेको प्रसङ्ग पुराणहरूमा पाइन्छ। त्यसैले भाइटीकाको धार्मिक महत्त्व त्यही प्रसङ्गबाट सुरु भएको बुझ्न सकिन्छ,’ उनले भने ।
उनका अनुसार भाइटीकाको पूजा विधिमा दीप, कलश र गणेशको पूजा गरी यम–यमुनाको पूजा गर्ने, अष्टचिरञ्जीवी तथा दीर्घजीवी ऋषि लोमशको पूजा गर्ने परम्परा रहेको छ। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई पूजा गरी परस्पर सम्मान, आत्मीयता र सद्भाव प्रकट गर्ने गरिन्छ।
शास्त्र तथा कर्मकाण्डीय विधिमा दुवै पक्षको उन्नति, प्रगति र कल्याणको कामना गर्दै प्रार्थना गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले भाइटीकालाई एकतर्फी पूजा वा सम्मानको पर्वका रूपमा मात्र नभई पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने अवसरका रूपमा बुझ्नुपर्ने बताए।
दिदीबहिनी वा दाजुभाइको घरमा टीका लगाउन सकिन्छ
भाइटीकाको पौराणिक कथामा यमुनाले यमराजलाई आफ्नै घरमा आमन्त्रण गरेर टीका लगाएको प्रसङ्ग रहे पनि त्यसलाई दिदीबहिनीले अनिवार्य रूपमा दाजुभाइलाई आफ्नै घरमा बोलाउनुपर्ने नियमका रूपमा बुझ्न नहुने डा. भट्टराईको स्पष्ट धारणा छ।
उनका अनुसार दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अभेद्य र आत्मीय हुने भएकाले आफ्नो अनुकूलता तथा परिस्थितिअनुसार दिदीबहिनीको घरमा वा दाजुभाइको घरमा भाइटीका लगाउन सकिन्छ।
‘पौराणिक कथामा यमुनाले यमराजलाई बोलाएर टीका लगाएको प्रसङ्ग छ। तर त्यसको अर्थ दिदीबहिनीले नै अनिवार्य रूपमा दाजुभाइलाई बोलाउनुपर्छ भन्ने होइन। आफ्नो अनुकूलताअनुसार दिदीबहिनीको घरमा गएर वा दाजुभाइको घरमा टीका लगाउन सकिन्छ,’ उनले भने।
नेपाली समाजमा विवाहपछि दिदीबहिनी जन्मघर छाडेर कर्मघर जाने परम्परा रहेकाले समय, परिस्थिति र अनुकूलतालाई विचार गरी भाइटीका मनाउने चलन रहेको उनले बताए। यस विषयमा अनावश्यक विवाद वा अन्यथा अर्थ लगाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
मखमली र सयपत्री ऋतुअनुसार फुल्ने फूल भएकाले विशेष महत्त्व
भाइटीकामा मखमली र सयपत्री फूलको माला लगाउने परम्परालाई पनि ऋतु र प्रकृतिसँग जोडेर बुझ्नुपर्ने डा. भट्टराई बताउँछन्। उनका अनुसार ऋतुअनुसार फुल्ने फूल र फल्ने फलको गुणस्तरीयता तथा स्वास्थ्यका दृष्टिले विशेष महत्त्व हुन्छ। त्यसैले धार्मिक पूजामा पनि ऋतु अनुकूलका फूल तथा सामग्री चढाउने परम्परा रहेको छ।
उनले आजभन्दा १५–२० वर्षअघि सयपत्री र मखमली फूल अन्य समयमा त्यति धेरै फुलाइने नगरेको स्मरण गर्दै पछिल्लो समय नर्सरी तथा विभिन्न प्रविधिको विकासका कारण जुनसुकै समयमा फूल उपलब्ध हुन थालेको बताए।
‘ऋतुअनुसार फुल्ने फूल र फल्ने फलको आफ्नै महत्त्व हुन्छ। पूजामा पनि ऋतुअनुसारका फूल चढाउने भनिन्छ। सयपत्री र मखमली फूल तिहारको समयमा उपलब्ध हुने भएकाले तिनको माला लगाउने परम्परा बसेको हो,’ उनले भने।
सप्तरङ्गी र पञ्चरङ्गी टीकाको अर्थ धार्मिकभन्दा सांस्कृतिक
भाइटीकामा लगाइने सप्तरङ्गी तथा पञ्चरङ्गी टीकाको प्रसङ्गमा डा. भट्टराईले रङको सङ्ख्या शास्त्रले निश्चित रूपमा तोकेको अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार यसको व्याख्या धार्मिक विधिभन्दा सांस्कृतिक पक्षबाट गर्नु उपयुक्त हुन्छ।
सप्तरङ्गी टीकालाई सूर्यसँग जोडेर व्याख्या गर्न सकिने उनको भनाइ छ। यमराजको सूर्यसँग पिता–पुत्रको सम्बन्ध रहेको पौराणिक मान्यताका आधारमा सूर्यबाट प्राप्त हुने सात रङ तथा इन्द्रेणीका सात रङसँग सप्तरङ्गी टीकाको सम्बन्ध जोडिएको उनले बताए।
त्यस्तै, पञ्चरङ्गी टीकालाई यमपञ्चकका पाँच दिनको प्रतीकका रूपमा पनि व्याख्या गर्ने गरिएको छ। विभिन्न रङले आ–आफ्नै सांस्कृतिक अर्थ र महत्त्व बोकेको उल्लेख गर्दै उनले रङमार्फत सद्भाव, प्रकृतिप्रतिको निकटता र भावनात्मक सम्बन्ध अभिव्यक्त हुने बताए।
‘पहिले पञ्चरङ्गी भनिन्थ्यो, अहिले सप्तरङ्गी भयो भन्ने बहस पनि सामाजिक सञ्जालमा देखिन्छ। तर संस्कृति समाजले निर्धारण गर्ने कुरा हो। यसको मापदण्ड पनि समाजमै निर्भर हुन्छ। त्यसैले यसलाई धार्मिक रूपमा भन्दा सांस्कृतिक रूपमा बुझ्नु राम्रो हुन्छ,’ उनले भने।
उपहार र दक्षिणा आत्मीयता प्रदर्शन गर्ने माध्यम
भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलनलाई पनि डा. भट्टराईले आत्मीयता र सम्मान अभिव्यक्त गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार नेपाली संस्कृतिमा दाजुभाइलाई श्रद्धा र सम्मान गर्ने तथा दिदीबहिनीलाई पूज्य भावले हेर्ने परम्परा रहेको छ। दाजुभाइले दिदीबहिनीलाई उपहार वा दक्षिणा प्रदान गर्नु उनीहरूप्रतिको स्नेह र आत्मीयता प्रकट गर्ने अभ्यास हो।
तर उपहार वा दक्षिणाको निश्चित मापदण्ड नरहेको उनले स्पष्ट पारे। आफ्नो क्षमता र सामर्थ्यअनुसार उपहार प्रदान गर्नु नै परम्पराको मर्म भएको उनको भनाइ छ।
‘दिदीबहिनीलाई उपहार र दक्षिणा दिने कुरा आत्मीयता प्रदर्शन गर्ने हो। यसमा यति नै दिनुपर्छ भन्ने छैन। आफ्नो यथाशक्ति र यथासामर्थ्यअनुसार गर्ने कुरा हो,’ उनले भने।
संस्कृतिलाई माया गर्न सबै नेपालीलाई आग्रह
भाइटीका केवल धार्मिक कर्मकाण्डमा सीमित नभई नेपाली समाजको पारिवारिक सम्बन्ध, सांस्कृतिक पहिचान र आत्मीयताको प्रतीक भएको डा. भट्टराईको भनाइ छ। उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई आफ्नो धर्म, संस्कृति र परम्पराप्रति सद्भाव कायम राख्न आग्रह गरेका छन्।
तिहारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालीहरूलाई आफ्नो संस्कृतिलाई निरन्तर माया गरिरहन आग्रह गरे।
‘समस्त नेपालीहरू, जो स्वदेशमै बसिरहनुभएको छ अथवा विभिन्न कारणवश विदेशमा रहनुभएको छ, आफ्नो धर्मप्रति सद्भाव राख्ने र संस्कृतिलाई प्रेम गर्ने सबैलाई तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरू सधैँभरि आफ्नो संस्कृतिलाई माया गरिरहनुहोस् भन्ने भावना व्यक्त गर्दछु,’ उनले भने।

