सर्लाही - तिहार अर्थात् दीपावलीपछि मनाइने परम्परागत गोधन कुट्ने पर्व सर्लाहीमा आज बुधबार बिहान धुमधामका साथ मनाइएको छ। जिल्लाको सदरमुकाम मलंगवासहित विभिन्न गाउँ तथा बस्तीमा महिलाहरू एकै ठाउँमा भेला भएर धार्मिक तथा सांस्कृतिक विधिअनुसार यो पर्व मनाएका हुन्।
विशेषगरी महिलाहरूको सहभागितामा मनाइने यस पर्वमा गाईको गोबरबाट बनाइएको गोलाकार प्रतिमालाई कुट्ने परम्परा रहेको छ। पर्वका अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भई गोधन कुट्नुका साथै परिवार तथा सन्तानको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने गर्छन्।
यस पर्वमा गाईको गोबरभित्र राखिएको बज्र अर्थात् खेराउ निकालेर घर लैजाने र परिवारका सदस्यहरूलाई खुवाउने धार्मिक तथा सांस्कृतिक चलनसमेत रहेको छ। यसो गर्दा परिवारका सदस्य तथा सन्तानको आयु लामो हुने र सुख–समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ। गोधन कुट्ने क्रममा महिलाहरूले विभिन्न परम्परागत गीतसमेत गाउने गर्छन्।
परम्परागत रूपमा गोधन पर्वका लागि घरमा गाईको गोबरबाट प्रतिमा निर्माण गरी निर्धारित दिनमा पूजा गर्ने र गोधन कुट्ने गरिन्छ। यस वर्ष पर्व मनाउने समय एक दिन पछाडि सार्दै आज बुधबार बिहान गोधन कुट्ने पर्व मनाइएको स्थानीयले बताएका छन्।
सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न गाउँमा महिलाहरूको उल्लेख्य सहभागितामा पर्व मनाइएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्यका गाउँहरूमा समेत यो पर्व परम्परागत रूपमा मनाउने गरिन्छ।
गोधन कुट्ने पर्वले धार्मिक आस्था, पारिवारिक सुख–समृद्धिको कामना तथा पुस्तौँदेखि चल्दै आएको मौलिक संस्कृति र सामाजिक एकतालाई निरन्तरता दिँदै आएको छ। पछिल्लो पुस्तामा समेत यस्ता परम्पराको संरक्षण र निरन्तरताका लागि महिलाहरूले सामूहिक रूपमा पर्व मनाउँदै आएका छन्।

