कुनै समय थियो, तिहार आउँदा हाम्रो घर मात्रै होइन, सिंगो परिवार उज्यालो हुन्थ्यो। आज तिहार फेरि आउँछ, फूलहरू फुल्छन्, टीका र माला सजिन्छन् तर, त्यो उज्यालो बोकेको हाम्रो परिवारको आँगन कतै हराइसकेको छ।
मांखा हाम्रो निकै प्यारो ठाउँ हो । जन्मेको ठाउँ । बालापन बिताएको ठाउँ । प्यारा सम्झनाहरूले भरिएको ठाउँ । बुबाका चार जना दाजुभाइ, तीन जना दिदीबहिनी । छोराछोरी हामी १८ जना थियौं । ठूलो परिवार, धेरै छोराछोरी र एउटै आँगनमा गुञ्जिने अनगिन्ती आवाजहरू । सबै कुराले सम्पन्न हाम्रो परिवारमा न दाजुभाइको कमी थियो, न दिदीबहिनीहरूको नै । जति ठूलो परिवार थियो, मनहरू त्यति नै ठूला थिए।
दशैँ आउँदा हाम्रो टीका एउटै घरमा लगाइन्थ्यो। मेरो पालो २१ जनापछि आउन्थ्यो। ठूलोबुबा, बुबा, आमा, अर्कामा, साइलबा र साइली आमा, ठूलो काका र काकी आमा, काका र सानीमा, दाइ, भाउजू सबैले पालैपालो टीका लगाइदिँदा, आशीर्वाद दिँदा र दक्षिणा हातमा राखिदिँदा मन कति खुसी हुन्थ्यो। सानो हातमा जम्मा भएको पैसा मात्रै खुसीको कारण थिएन, त्यो त सबैको माया एकै ठाउँमा पाउनुको सुखद आनन्द थियो।
तिहार पनि कम खुसी बोकेर आउँदैनथ्यो। फुपूहरू, बुबाहरू, ठूलोबुबा, हाम्रो परिवार र साइँलो बुबाको परिवार एकै ठाउँमा टीका लगाउँथ्यौँ। तर ठूलो काका र काकाका छोराछोरी भने छुट्टै टीका लगाउँथे। दशैँजस्तो तिहारमा सबै एकै ठाउँमा भएको अनुभूति हुँदैनथ्यो। परिवार अलिकति बाँडिएको जस्तो लाग्थ्यो। तर मेरो सानो मनलाई त्यो कुरा मन पर्दैनथ्यो ।
मनभित्रै एउटै चाहना हुन्थ्यो, सबै दाजुभाइ, दिदीबहिनी एकै ठाउँमा बसेर तिहार मनाउन पाए कति राम्रो हुन्थ्यो होला !
हाम्रो बुबाका दुई परिवार हुनु, हाम्रो आमाको छोरा नहुनु र हामी धेरै दिदीबहिनी हुनुका कारण पनि त्यो अनुभूति अझ गहिरो भएको होला। तर, ती भावनाहरू कहिल्यै व्यक्त भएनन्। मनमा उठेका प्रश्नहरू मनमै रहे। बालापनका ती अव्यक्त चाहनाहरू आज सम्झिँदा झन् भावुक बनाउँदो रहेछ ।
अहिले जस्तो मोबाइलको जमाना भएको भए, दशैँ र तिहारमा टीका लगाइसकेपछि खिचिएका तस्बिरहरू कति सुन्दर हुन्थे होला ! एउटै तस्बिरमा चार जना दाजुभाइ, तीन जना फूपुहरू, सबै छोराछोरी, बुबाआमा र आफन्तहरू अटाउँथे होलान्। ती तस्बिरहरू हेर्दै हामी कति पटक पुराना दिनमा फर्किन्थ्यौँ होला!
तर त्यो त अहिले कल्पना मात्रै हो।
त्यतिबेला तस्बिरहरू खिचिएनन्, तर मनमा ती तस्बिरहरू सधैँ खिचिएका छन् । बालापन, ती चाडपर्व, ती घरहरू, ती आँगनहरू, ती अनुहारहरू सबै मनको कुनामा अझै कैद छन्।
चार जना दाजुभाइका उस्तै घर, एउटै आँगन, अनि त्यही आँगनमा गुञ्जिने केटाकेटीका आवाजहरू। त्यो आवाज हामीलाई भन्दा बढी बुबाआमाका लागि प्रिय थियो। आफ्ना सन्तानहरू एकै ठाउँमा, आफ्नै आँखाअगाडि रमाइरहेको देख्नु नै उहाँहरूको सबैभन्दा ठूलो सुख थियो होला।
तर समय सधैँ एकनास कहाँ रहन्छ र !
क्रमशः परिवारबाट एक–एक जना छुट्टिँदै गए। दिदीहरू विवाह गरेर जानुभयो। दाइहरू पढ्न बाहिर जानुभयो। घरहरू सुनसान हुँदै गए। आँगनमा पहिलेझैँ केटाकेटीको आवाज सुनिन छाड्यो। तर धेरै वर्षसम्म हाम्रो दशैँ भने पुरानै शैलीमा आउँथ्यो। त्यो ठूलो परिवार, त्यो रमाइलो माहोल र बालापनका खुसीहरू सम्झनामा भए पनि चाडपर्वले केही हदसम्म पुरानै अनुभूति दिइरहन्थ्यो।
त्यसपछि समयले झन् कठोर मोड लियो।
२०७२ सालको भूकम्पले हाम्रा ती घरहरू भत्काइदियो। घर मात्रै भत्किएनन्, ती घरभित्र सुरक्षित राखिएका सम्झनाका कति आधारहरू पनि माटोमा मिसिए। जहाँ हामी हुर्किएका थियौँ, जहाँ तिहारका टीका लगाएका थियौँ, जहाँ परिवारको खुसी गुञ्जिएको थियो, ती घरहरू रहेनन्।
तर घर भत्किनु मात्रै हाम्रो परिवारको सबैभन्दा ठूलो पीडा थिएन।
परिवारमा अगाडि नै भएका दुई वटा भयानक दुर्घटनाले तिहारको खुसी नै खोसिदिएको थियो । काकाको छोरा पुष्कर दाइ र हाम्रो देवेन्द्र दाइको निधनपछि चाडपर्वहरू हाम्रा लागि खुसीका दिन रहेनन्। टीका, आशीर्वाद र दक्षिणाभन्दा प्रियजनका सम्झना र बिछोडका पीडाहरू बढी भएर आउन थाले।
धेरै वर्षसम्म न बुबाआमाहरू खुसी हुनुभयो, न हामी नै। तिहार आउँदा मनमा प्रश्न उठ्थ्यो किन आउँछ यो पर्व ? किन हरेक वर्ष उही सम्झनाहरू बोकेर आउँछ ? किन अरूका घरमा खुसी छाउँदा हाम्रो मनमा पीडा बल्झिन्छ ?
समयक्रमसँगै केही घाउमा खाटा बसे। केही घाउ भने झन् आलो हुँदै गए। तिहारले हरेक वर्ष ती घाउहरूलाई फेरि कोट्याइरह्यो।
२०५८ सालको तिहार हाम्रो परिवारका लागि कहिल्यै निको नहुने घाउ बनेर बस्यो ।
त्यो हाम्रो देवेन्द्र दाइसँग मनाएको अन्तिम तिहार थियो।
गाउँमा माओवादीको दबदबा थियो। १९ वर्षको उमेर, जवान शरीर, मनमा अनेक रहर। तिहारमा पटाका पड्काउने, देउसी खेलेर रमाउने, साथीभाइसँग खुसी साट्ने उहाँको चाहना थियो। तिहारको बिहान फुपूहरूले टीका लगाउने तयारी गरिरहनुभएको थियो। दाइ पनि देउसी खेलेर घर आइपुग्नुभएको थियो।
उहाँले एउटा पटाका पड्काउनुभयो।
पटाकाको आवाजसँगै हाम्रो घरको खुसीमा डर मिसियो। माओवादीहरू धम्की दिन हाम्रो घरमा आए। टीकाको दिन दाइलाई आफूसँगै लैजाने भन्दै निहुँ खोज्न थाले। काकाहरूले सम्झाउनुभयो ‘बच्चा हो, अबदेखि त्यस्तो गर्दैन।’
त्यसपछि दाइलाई फेरि पटाका नपड्काउने सर्तमा छाडेर उनीहरू गए।
तर घरभित्रको तनाव सकिएको थिएन।
बुबाको रिस मरेको थिएन। तल्लो घरको कोठामा दाइ हुनुहुन्थ्यो। भाइ पूजा गर्ने तयारी भइरहेको थियो। त्यही बेला बुबाले दाइलाई लातैलाताले हान्नुभयो। दाइ रुनुभयो।
त्यो दृश्य सम्झिँदा आज पनि मन भक्कानिन्छ।
जुन दिन दाजुभाइको निधारमा टीका लगाएर सुस्वास्थ्य र दीर्घायुको कामना गरिन्छ, जुन दिन दिदीबहिनीको मनमा दाजुभाइप्रतिको माया अझ गाढा हुन्छ, त्यही दिन हाम्रो दाइले दुःख सहनुपर्यो। खुसी हुन खोजेको एउटा जवान मन आँसुमा डुब्यो।
हामी सबैलाई नराम्रो लाग्यो। तर त्यो बेला हामी साना थियौँ। न केही भन्न सक्थ्यौँ, न केही गर्न सक्थ्यौँ। जसोतसो टीका लगायौँ।
हामी सात दिदीबहिनीका एउटै दाइ हुनुहुन्थ्यो। उहाँ हाम्रो परिवारको सबैभन्दा विशेष सदस्य हुनुहुन्थ्यो। दिदीहरू दाइका लागि भोकै बस्नुहुन्थ्यो। उहाँको दीर्घायुको कामना गर्नुहुन्थ्यो। सबै पूजा र कर्म दिदीहरूले गरिसकेपछि हामी साना बहिनीहरूले एक टीका थप्ने गर्थ्यौँ।
त्यो टीका हाम्रो माया थियो। त्यो दक्षिणा हाम्रो खुसी थियो। त्यो पर्व हाम्रो संसार थियो।
तर त्यो संसारमा खुसी धेरै दिन टिकेन।
त्यही वर्षको चैतमा दाइको दुर्घटनामा निधन भयो।
तिहारको दिन दाइको आँसु देखेका हामीले केही महिनापछि उहाँलाई सधैँका लागि गुमायौँ। त्यो अन्तिम टीका, त्यो अन्तिम भेट, त्यो अन्तिम तिहार—सबै सम्झनामा मात्रै सीमित भए।
त्यसपछि तिहार फेरि आयो। वर्षैपिच्छे आयो। तर हाम्रो घरमा पुरानो खुसी बोकेर कहिल्यै आएन।
दाजुभाइ नभए पनि हामी दिदीबहिनी जम्मा हुन्थ्यौं । एकले अर्कालाई टीका लगाउने मिठा-मिठा खानेकुरा दिन्थ्ययौँ। दाइको अभावलाई एकअर्काको मायाले छोप्ने प्रयास गर्यौँ। एकअर्काको निधारमा टीका लगाउँदा दाइको सम्झना आउँथ्यो। दक्षिणा दिँदा दाइले दिएको दक्षिणाको याद आउँथ्यो। हाँस्दा पनि मनको कुनै कुनामा आँसु लुकेको हुन्थ्यो।
हामीले तिहार मनाउन त सिक्यौँ, तर पहिलेको जस्तो तिहार महसुस गर्न कहिल्यै सकेनौँ।
आज मांखाका ती घरहरू छैनन्। त्यो एउटै आँगन छैन। परिवारका सबै सदस्य एकै ठाउँमा छैनन्। त्यो बालापन छैन। त्यो खुसी छैन। पुष्कर दाइ र देवेन्द्र दाइ पनि हुनुहुन्न।
तर ती सबै सम्झनाहरू अझै जीवित छन्।
तिहार आउँदा सयपत्री र मखमलीका फूलहरू फुल्छन्। घरहरू झिलिमिली हुन्छन्। दिदीबहिनीहरू टीका लगाउन जम्मा हुन्छन्। संसारभरि खुसीको रङ छरिन्छ। तर हाम्रो मनको एउटा कुनामा मांखाको त्यो पुरानो आँगन अझै उस्तै छ। त्यहाँ चार जना दाजुभाइका घरहरू छन्। त्यहाँ केटाकेटीको आवाज गुञ्जिरहेको छ। त्यहाँ बुबाआमाहरू आफ्ना सन्तानलाई हेरेर मुस्कुराइरहनुभएको छ। अनि त्यहाँ हाम्रा दाइहरू पनि छन्।
सायद सम्झनाको संसारमा केही पनि हराउँदैन।
हराउँछन् त केवल ती दिनहरू, ती अवसरहरू र ती मान्छेहरूलाई फेरि छुन पाउने हाम्रो अधिकार।
तिहारले हरेक वर्ष मलाई त्यही बालापनमा पुर्याउँछ। त्यो २१ जनापछिको टीका, त्यो ठूलो परिवार, त्यो एउटै आँगन, त्यो देउसी, त्यो अन्तिम तिहारको टीका अनि दाइको आँसु।
कहिलेकाहीँ लाग्छ, जीवनले हामीबाट घर मात्रै खोसेन, परिवारको त्यो पुरानो स्वरूप पनि खोस्यो। चाडपर्वको अर्थ मात्रै बदलेन, खुसीको अनुभूति पनि बदलिदियो।
तिहार आउँछ, तर हाम्रो पुरानो तिहार आउँदैन।
फूलहरू फुल्छन्, तर ती फूलहरूमा पहिलेको सुगन्ध भेटिँदैन। टीका सजिन्छ, तर निधारमा लगाउँदा मनमा पहिलेको उमङ्ग जाग्दैन। दिदीबहिनीहरू भेटिन्छौँ, तर त्यो भेटमा एउटा दाइको अभाव सधैँ रहिरहन्छ।
मांखा आज पनि हाम्रो प्यारो ठाउँ हो। घरहरू भूकम्पले ढाले होलान्, आँगनहरू सुनसान भए होलान्, परिवारका सदस्यहरू समयसँगै टाढा भए होलान्। तर त्यो ठाउँ हाम्रो मनबाट कहिल्यै टाढा हुने छैन।
किनकि त्यहाँ हाम्रो बालापन छ। त्यहाँ हाम्रा बुबाआमाको खुसी छ। त्यहाँ हाम्रा दाइहरूको सम्झना छ। त्यहाँ हाम्रो परिवारको एउटा यस्तो इतिहास छ, जुन आँसुमा लेखिएको भए पनि मेटिने छैन।
तिहार केवल फूल, टीका र बत्तीको पर्व रहेन अब हाम्रो लागि। यो त हराएको परिवार, बितेको बालापन र कहिल्यै फर्केर नआउने प्रियजनहरूको सम्झना बनेको छ।
हरेक वर्ष तिहार आउँदा मनले एउटै कुरा भन्छ:
काश ! फेरि एकपटक मांखाको त्यो पुरानो आँगनमा फर्किन पाए हुन्थ्यो।
काश ! सबै दाजुभाइ, दिदीबहिनी, बुबाआमा एकै ठाउँमा जम्मा हुन पाए हुन्थ्यो।
काश ! दाइहरू फेरि हाँस्दै हाम्रो अगाडि उभिन पाए हुन्थ्यो।
काश ! त्यो २०५८ सालको तिहार फेरि एकपटक मनाउन पाए हुन्थ्यो।
तर जीवनमा केही काशहरू कहिल्यै पूरा हुँदैनन्।
ती काशहरू नै तिहारको उज्यालोमा मनभित्र बलिरहने अनन्त दीप हुन् ।

