गाउँ शहर जताततै
चुनावको चहल पहल छ,
बाटाहरू लमतन्न तन्किरहेछन
चुनावको रन्को सँगै,
मलाई पनि गाउँले बोलायो ।
लम्पसार थिए बाटाहरू,
पारिलो घाममा खर्केर,
केही साथीहरु बाटो कुर्दैछन् ।
मैतालु घर फर्किए झैं ,
बाटो हेर्दै रहेछ, रित्तो घरले ।
माली गाईले चर्ने खर्कहरू,
उराठ मानेर तन्किरहेछन्
गाई बाख्राले चर्ने खरुकी,
भिरमै सुकेर झुरिएछन्,
माईला बा ले टेक्ने लठ्ठी,
बार्दलीमै मक्कीई सकेछ
आमाले पानी बोक्ने डोको
पिँध फुस्केर उभिण्डो परेछ ।
उजाड भएछन् बाख्राका टाट्नाहरू
अनि, गाई भैंसीका ग्वालीहरू
मक्काई सकेछन् डाँडा भाटा,
पानी चुहिदैंछ मतानबाट तप्प तप्प ।
अस्तित्व चाहिँ देखिदैंछ तर,
न जिव छ, न त जीवन नै ।
वर्षौ भयो तगारो नखुलेको,
फुस्कि सकेछन् जुईनाहरू
पर्म मिसाउने कान्छी भाउजु,
गर्जो टार्न मुग्लान पसिछन् ।
कालीदहमा पौडी खेल्ने साथिहरू
सरल जीवन खोज्दै शहर छिरेछन् ।
बाटाघरे हजुरबा बाटो बिराएर
खै कता हराउनु भयो अरे,
बुढा भएछन् सालका रुखहरू,
बोक्रा उप्किएर उराठ देखिएछन् ।
सुन्तलाले पाखै पहेलिन्थ्यो,
कमिलाले मौजा जमाएछन्
खोल्सामा निहुरिने निगुरो
वनमारा र उन्यूले धपाईदिएछन्
लहलह धान झुल्ने फाँटहरू
बाँझिएर काँस फुल्न थालेछन्
हामीले जोगाएका सिमालीहरु,अनि
बारमा ठड्याएका कदमका बुट्टाहरू
इतिहाँस बनेछन् केवल भाष्य मात्र ।
हामी हिँड्ने गोरेटाहरु
स्तरोन्नति भएछन् केही फराकिला
कतै भित्तो तासिएर निकै चौडा
फलानोको कोदोबारीमा
तिलानोले घर रोपेछ,
टारबारी बाँझिए पछि
घरैको गमलामा तरकारी खेती,
मान्द्रो ओछ्याएर लस्करै
विवाह भोज खाने बारीका पाटाहरू
पार्टी प्यालेसमा भएको रुपान्तरण देख्दा
लाग्यो, मेरै गाउँमा शहर छिरेछ ।
अनि त,
निरन्तर आगमनको वाचा सम्झदैं
चुनाव जितेको चार वर्ष पछि
माननीय पनि, पुनः गाउँ फिर्नु भएछ ।



